दौडिने व्यक्तिहरूमा मृत्युको जोखिम २७ प्रतिशत कम
अस्ट्रेलियाको मेल्बर्नस्थित भिक्टोरिया युनिभर्सिटीको इन्स्टिच्युट फर हेल्थ एण्ड स्पोर्टस्ले हालै गरेको एक अनुसन्धानले नदैडिनेहरूमा भन्दा दौडिने व्यक्तिहरूमा मृत्युको जोखिम २७ प्रतिशत कम हुने गरेको देखाएको छ ।
दुई लाख ३२ हजार १४९ व्यक्तिमा गरेको उक्त अनुसन्धानले एक हप्तामा ५० मिनेटसम्म दौडिनेहरूमा मृत्युको जोखिम २७ प्रतिशतले कम हुने देखाएको हो ।
एक हप्तामा विभिन्न दिनहरू गरेर कुल ५० मिनेटसम्म दौडिनेहरूमा मृत्युको जोखिम २७ प्रतिशतले कम हुने अनुसन्धानले देखाएको छ ।
१९ कात्तिकमा मेल्बर्न अस्ट्रेलियाको भिक्टोरिया युनिभर्सिटीले विज्ञप्ति जारी गरेर उक्त अनुसन्धानबाट देखिएका नतिजाहरू सार्वजनिक गरेको थियो।
उक्त अनुसन्धान प्रतिवेदन द ब्रिटिस जर्नल अफ स्पोर्टस् मेडिसिनले समेत प्रकाशित गरेको छ ।
भिक्टोरिया युनिभर्सिटीमा विद्यावारिधि गरिरहेका नेपालका चिकित्सक डा. निपुन श्रेष्ठसहित १० जना विज्ञहरूले दौड र मृत्युको जोखिमसँग सम्बन्धित १४ अध्ययन प्रतिवेदनहरूमाथि समीक्षा गरेर उक्त नतिजा निकालेका हुन् ।
१८ वर्षदेखि माथिका दुई लाख ३२ हजार १४९ व्यक्तिको स्वास्थ्य अवस्थामाथि अनुसन्धान गरिएको थियो ।
अनुसन्धानमार्फत दौडिने र नदौडिने व्यक्तिका बीचमा तुलनात्मक अध्ययन गरिएको थियो ।
त्यसबाट दौडिने व्यक्तिहरूमा सबै प्रकारका नसर्ने रोगका कारण हुने मृत्युको जोखिम २७ प्रतिशतले कम हुने देखिएको हो ।
नदौडिने भन्दा दौडिनेमा मुटुसँग सम्बन्धित कार्डियोभास्कुलर रोगका कारण हुने मृत्युको जोखिम ३० प्रतिशतले कम हुने देखाएको छ ।
यस्तै, अनुसन्धानले क्यान्सरका कारण हुने मृत्युको जोखिम २३ प्रतिशतले कम हुने देखाएको छ ।
तर, हप्तामा ५० मिनेट भन्दा बढी दौडिदा हुने फाइदाहरूका बारेमा यो अनुसन्धानले कुनै कुरा प्रमाणित गर्न सकेको छैन ।
यस्तै, अनुसन्धानको नतिजामा बिहान, दिउँसो वा साँझ कुन समयमा दौडिने भन्ने बारेमा खुलाएको छैन ।
अनुसन्धानको नेतृत्व गरेका भिक्टोरिया युनिभर्सिटीको इन्स्टिच्युट फर हेल्थ एण्ड स्पोर्टस्का एसोसियट प्रोफेसर जेल्को पेरिसिच भन्छन्, “दैनिक कसरत गर्न समय नहुनेहरूका लागि यो राम्रो खबर हो । तर, यो अनुसन्धानबाट बढी समयसम्म दौडिनेहरूलाई निरुत्साहित गर्न खोजिएको होइन।”
हिमालखबरसँग कुरा गर्दै अनुसन्धानमा सहभागी डा. निपुन श्रेष्ठ मुटु रोगीहरू पनि दौडिन सक्ने तर गति कम गर्नुपर्ने बताउँछन् ।
यस्तै, उनी स्वच्छ वातावरणमा मात्र दौडिन सुझाउँछन् ।
श्रेष्ठ भन्छन्, “हप्तामा ५० मिनेटभन्दा कम दौडिदा पनि स्वास्थ्यलाई फाइदा हुन्छ ।”