अब बाग्लुङको पञ्चकोटमा पनि प्याराग्लाइडिङ
बाग्लुङ नगरपालिका–६ स्थित पर्यटकीय गन्तव्य पञ्चकोटबाट गरिएको प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ।
आगामी पुसमा सञ्चालन हुने बाग्लुङ महोत्सवमा प्याराग्लाइडिङ सञ्चालनका लागि शनिबार पोखराका अनुभवी चालक कृष्णबहादुर सुनुवारले गरेको परीक्षण उडान सफल भएको हो। प्याराग्लाइडिङका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य महोत्सव आयोजक बाग्लुङ उद्योग वाणिज्य सङ्घले लिएको छ। महोत्सव धवलागिरि बहुमुखी क्याम्पसको परिसरमा हुनेछ।
चालक सुनुवारले बाग्लुङको आकाशमा केहीबेर प्याराग्लाइडिङ उडाएपछि क्याम्पसको चौरमा प्याराग्लाइडिङलाई अवतरण गराएका थिए। क्याम्पस प्राङ्गणमा महोत्सव चल्ने हुँदा वैकल्पिक अवतरण स्थलको खोजी भइरहेको संघले जनाएको छ।
चालक सुनुवार प्राविधिक र वातावरणीय हिसाबले पञ्चकोट उपयुक्त रहेकाले व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने बताउँछन्।
११-२० पुससम्म चल्ने महोत्सव अवलोकनमा आउने दर्शक/पर्यटकले प्याराग्लाइडिङ उडानको मज्जा लिन पाउनेछन्।
पञ्चकोट पछिल्लो समय धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास भइरहेको छ। प्राकृतिक सौन्दर्य, मनोरम वातावरण, हिमशृङ्खला अवलोकन आदिका लागि पनि पञ्चकोट उपयुक्त मानिन्छ।