बैतडीमा टुङ्गो लाग्यो नेकपा र कांग्रेसको उम्मेदवार
आगामी मंसीर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरुले आफ्ना उम्मेदवार तय गरेका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस दुवैले उम्मेदवारको टुङ्गो लगाएको हो। वडाध्यक्ष रिक्त रहेका सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका–४ र दोगडाकेदार गाउँपालिका–४ मा उपनिर्वाचन हुँदैछ।
नेकपाका तर्फबाट दोगडाकेदार गाउँपालिका–४ मा नरेन्द्रप्रसाद भट्ट र सुर्नया गाउँपालिका– १ मा धनबहादुर चन्द र पुर्चौडी नगरपालिका–४ मा शैलेन्द्र धानुकलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका कार्यालय सचिव प्रजापति जोशीले जानकारी दिए।
यस्तै, काङ्ग्रेसले सुर्नया गाउँपालिका–१ मा गजेन्द्रबहादुर चन्द, पुर्चौडी नगरपालिका–४ मा गोविन्दबहादुर धामी र दोगडाकेदार गाउँपालिका–४ मा सुरेन्द्रप्रसाद भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काङ्ग्रेस बैतडीका सचिव वीरबहादुर विष्टले बताए।
उम्मेदवार टुङ्गो लागेसँगै नेकपा र काङ्ग्रेस दुवैले प्रचारप्रसारमा तीव्रता दिएका छन्। यसका साथै साना दलहरुले पनि आफ्ना उम्मेदवारको टुङ्गो लगाउन आन्तरिक तयारी गरिरहेका छन्।