नारायणगोपाल युवा सङ्गीत र अरनिको युवा कला पुरस्कार घोषणा
नारायणगोपाल युवा सङ्गीत पुरस्कार यस वर्षका लागि युवा गायिका निशा देशार (ललितपुर) र युवा सङ्गीतकार सन्तोष श्रेष्ठ (दाङ) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
विविध सांङ्गीतिक विधामा निरन्तर सक्रिय रहँदै सङ्गीत, गायनका कलात्मकता एवम् सिर्जनशीलताको श्रीवृद्धिमा मुलुकको मौलिक, साँस्कृतिक, सांङ्गीतिक प्रवृत्तिमा प्रतिबद्ध रही योगदान पुर्याउने ४० वर्ष ननाघेका युवा गायक तथा सङ्गीतकारलाई प्रोत्साहन दिन स्वर सम्राट स्व नारायणगोपालको स्मृतिमा यो पुरस्कार २०४८ सालमा स्थापना भएको हो ।
सो निर्णय नारायणगोपाल युवा सङ्गीत पुरस्कार छनोट समितिका अध्यक्ष एवम् वरिष्ठ सङ्गीतकार प्रा दीपक जङ्गमको अध्यक्षतामा पुस १३ गते बसेको बैठकले गरेको राष्ट्रिय युवा सेवा कोषले जनाएको छ । पुरस्कारको राशि रु ५० हजार नगद र स्वर्णपदक रहेको छ ।
यसैगरी, कोषद्वारा राष्ट्रिय विभूति अरनिकोको स्मृति एवम् सम्मानका साथै कलाको संरक्षण र विकासमा प्रोत्साहन गर्न विसं २०५७ मा स्थापित ‘अरनिको युवा कला पुरस्कार’ यसवर्षका लागि युवा कलाकारद्वय ज्योतिप्रकाश विश्वकर्मा (नवलपरासी) र पृथ्वी श्रेष्ठ (ललितपुर) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
सो निर्णय अरनिको युवा कला पुरस्कार छनोट समितिका अध्यक्ष एवम् वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीको अध्यक्षतामा पुस १३ गते बसेको बैठकले गरेको हो ।
यस पुरस्कारको राशिमा रु ५० हजार नगद र स्वर्णपदक रहेको छ ।