जनकपुरमा साहित्य महोत्सव, आज दोस्रो दिन
आइएमई नेपाल लिटरचेर फेस्टिभल जनकपुर संस्करण २२ कात्तिक, शुक्रबारबाट जानकी मन्दिरमा शुरु भएको छ । फेस्टिभल बुकवर्म फाउण्डेशनले आयोजना गरेको हाे ।
सांस्कृतिक एवम् ऐतिहासिक जानकीधामको जानकी मन्दिरस्थित विवाह मण्डपमा शुक्रबार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले वृक्षरोपण गर्दै आइएमई नेपाल लिटरेचर फेस्टिभल, जनकपुर संस्करणको उद्घाटन गरे ।
उद्घाटन गर्ने क्रममा जनकपुर संस्करणमा राजनीतिशास्त्री एवम् साहित्यिक चिन्तक हरि शर्माले विद्वत् प्रवचन दिएका थिए । उनले साहित्य, भाषा र अध्यात्मको प्राचीन उद्गमस्थल मिथिलानगरी जनकपुरधामलाई सम्बोधन गर्ने क्रममा साहित्य मानिसलाई जोड्ने सेतु भएको बताए ।
‘राजनीतिक र सांस्कृतिक रुपमा फरक समुदायलाई पनि साहित्यले जोड्न सक्छ । जुन साहित्यले मानिसलाई जोड्न सक्दैन, त्यो साहित्य हुनै सक्दैन । साहित्यको आञ्चलिकताले हामीलाई उदार र सौम्य बनाउँछ’, सीमाञ्चल साहित्य बारे विश्लेषण गर्दै हरि शर्माले भने ।
पहिलोपटक मिथिलानगरी जनकपुरधाममा आइएमई नेपाल लिटरेचर फेस्टिभल जनकपुर संस्करण आयोजना गर्न पाउँदा उत्साहित भएको बुकवर्म फाउण्डेशनका अध्यक्ष एवम् नेपाल लिटरेचर फेस्टिभलका निर्देशक अजित बरालले बताए ।
‘लामो कालखण्डसम्म राजनीतिक र भौतिक विकासबाट विभिन्न कारणवश ओझेलमा परेको जनकपुरलाई पुनःउत्थानका लागि बहस र विमर्श सान्दर्भिक र आवश्यक भएको अनुभव गरेका छौं’, अजित बरालले भने ।
नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै सांस्कृतिक एवम् ऐतिहासिक सहर जनकपुरमा फेस्टिभललाई सफल बनाउनका लागि प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवालाहरूको साथ र सहयोगले हौसला दिएको उनले बताए ।
नेपाल भ्रमण वर्ष २०२० को संघारमा आइएमई नेपाल लिटरेचर फेस्टिभल, जनकपुर संस्करणले जनकपुर सहरको सांस्कृतिक, धार्मिक, साहित्यिक मूल्यमान्यतालाई पुनःस्थापना गर्न टेवा पुर्याउने नेपाल भ्रमण वर्ष २०२० प्रदेश नं २ का संयोजक एवम् फ्याक्ट्स नेपालका प्रमुख कार्यकारी अधिकृत मनीष झाले बताए ।
सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट शुरु भएको लिट्रेचर फेस्टिभल हाल आठौं संस्करणसम्मको यात्रामा पहिलो पटक स्थानीय संस्करणका रुपमा जनकपुरमा आयोजना भएको हो ।
आइएमई नेपाल लिटरेचर फेस्टिभल, जनकपुर संस्करण २२ कात्तिकदेखि २४ कात्तिकसम्म हुनेछ जहाँ १२ वटा बहस सत्रहरू रहेका छन् ।
महोत्सवको जनकपुर संस्करणको पहिलो दिन सांगीतिक कार्यक्रम गरी सकिएको थियो । तीनदिने जनकपुर संस्करणको साहित्य महोत्सव जानकी मन्दिर, विवाह मण्डप, रेल्वे स्टेशन र गङ्गासागरमा सञ्चालन गरिनेछ ।
‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ शुरु भएको आइएमई नेपाल लिटरेचर फेस्टिभलले कला, साहित्यको मात्रै प्रवर्द्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उँचाइ दिँदै आएको आयोजकको अनुभव छ ।
यस प्रकारको सामाजिक बहस र विमर्शले सर्जक र पदासीन व्यक्तित्वलाई जवाफदेही बनाउन, विचार मन्थन गरी समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन मद्दत पुर्याउँछ ।
साहित्य र संवादलाई एकैसाथ प्रवद्र्धन गरिरहेको महोत्सवले पर्यटनको सम्भावनालाई समेत ऊर्जा दिइरहेको आयोजकको अनुभव छ ।
(बुकवर्म फाउण्डेसन एक गैरनाफामूलक संस्था हो । प्रकाशक, पत्रकार र लेखक यस संस्थाका सदस्य हुन् । साहित्य र समाजबीच खुल्ला बहस, पठन संस्कृतिमा वृद्धि गर्न र आलोचनात्मक चेतलाई अभिवृद्धि गर्नु फाउण्डेसनको उद्देश्य हो ।)