‘प्रदेश ५ को राजधानी पायक पर्ने स्थानमा हुनुपर्छ’
नेपालगञ्जका उद्योगी व्यवसायीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रदेश राजधानी पायक पर्ने स्थानमा हुनुपर्ने माग गरेका छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले मङ्गलबार आयोजना गरेको स्वागत तथा समसामयिक विषयमा छलफल कार्यक्रममा उद्योगी व्यवसायीहरूले अहिलेको अस्थायी राजधानी बुटवल पायक नपरेको बताएका हुन् ।
“बरू काठमाडौं राजधानी ठीक थियो, बुटवल त गाह्रो भयो”, नेपालगञ्ज उद्योग वाणिज्य सङघका अध्यक्ष नन्दलाल वैश्यले भने, “प्रदेशको स्थायी राजधानी सकेसम्म नेपालगञ्ज नै हुनुपर्छ नभए सबैलाई पायक पर्ने स्थानमा हुनुपर्दछ ।”
उनले विगतमा पूर्वप्रधानमन्त्री दाहालले नेपालगञ्जको अभिभावक बन्ने आश्वासन दिएको सम्झना गराउँदै त्यसलाई व्यवहारमा ल्याउन अनुरोध गरे।
उद्योगी व्यवसायीको गुनासोको जवाफ दिँदै पूर्वप्रधानमन्त्री दाहालले सबैलाई सहज हुने र सबैको निम्ति सुविधा हुने ठाउँमा प्रदेशको राजधानी तोकिनु पर्ने बताए । “त्यसका लागि पहल कदमी भइराखेको छ, यो मैले तपाईंको अगाडि आश्वासन दिनमात्रै भनेको होइन”, उनले भने, “मेरो, प्रधानमन्त्री र पार्टीका अरु नेताहरू बीचमा कुरा हुँदा पनि सैद्धान्तिक सहमति भएको छ, अब व्यावहारिक रूप दिन मात्रै बाँकी छ ।”
उनले नेपालगञ्ज नेपालको राजनीतिक परिवर्तनको एउटा ऐतिहासिक केन्द्र रहेकाले नेपालगञ्ज कमजोर हुनु हुँदैन भन्ने मान्यताका साथ अघिल्लो पटक सुशील कोइराला नभए पनि आफूलाई अभिभावक मान्दा हुन्छ भनेको बताए । उनले त्यसमा अहिले पनि उही दृढताको साथ प्रतिबद्ध रहेको जानकारीसमेत गराए ।
“मेरो हेराइमा नेपालगञ्जलाई कसैले कमजोर पारेर कमजोर हुने स्थितिमा छैन”, अध्यक्ष दाहालले भने, “हिल्सा–जमुनाह रोड ठूलो भइसकेपछि नेपालगञ्ज फेरि एकपटक ठूलो व्यापारिक तथा पर्यटकीय केन्द्र हुनेवाला छ । धेरै चिन्तित हुनुपर्ने स्थिति नेपालगञ्जको होइन ।”
नेपागञ्ज उद्योग वाणिज्य सङ्घका तर्फबाट अध्यक्ष वैश्यले पूर्व प्रधानमन्त्री दाहाललाई नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाइनु पर्ने, नेपालगञ्जलाई औद्योगिक नगरका रूपमा विकास गर्नुपर्ने, नेपालगञ्जमा प्रदर्शनी केन्द्रका लागि जग्गा उपलब्ध गराउनुपर्ने लगायत सातबुँदे मागपत्र बुझाएका छन् ।