बाघको आक्रमणमा माहुतेको मृत्यु
बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारका कर्मचारी माहुतेको मृत्यु भएको छ ।
ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो । थारु २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रुपमा कार्यरत थिए ।
निकुञ्जभित्रको गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रविन कडारियाले बताए।
हात्ती लिएर जङ्गल पसेका थारु हात्तीबाट ओर्लिएर हात्तीलाई खर काट्ने क्रममा एक्कासि बाघले आक्रमण गरेर सय मिटर पर लगेको थियो ।
निकुञ्जको हात्तीसहितको टोलीले हल्लाखल्ला गर्दै थारुको खोजी गरेपछि बाघ भागेको थियो ।