नेशनलका विद्यार्थी शुल्क समायाेजन माग्दै काठमाडौंमा, भन्छन्- सुरक्षा ग्यारेन्टी नभएसम्म वीरगञ्ज फर्किन सक्दैनौं
एमबीबीएस तहका लागि तोकिए भन्दा बढी असुलिएको शुल्क फिर्ताको माग गर्दै वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा आन्दोलनमा उत्रेका विद्यार्थी कुटपिट र दमन भएपछि काठमाडौं आएर सम्बद्ध निकाय धाउन थालेका छन्।
असुलिएको बढी शुल्क समायोजन गर्नुपर्ने विद्यार्थीको माग छ। यस क्रममा उनीहरूले १७ कात्तिकमा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) डीन कार्यालय गएर शुल्क समायोजनका लागि पहल गरिदिन माग गरेका छन्। शिक्षा मन्त्रालय पनि जाने तयारीमा रहेको उनीहरूले बताएका छन्।
कलेजमा आन्दोलन गर्दा सञ्चालक बसरुद्दिन अन्सारीकै संलग्नतामा कुटपिट भएको भन्दै विद्यार्थीको समूह सुरक्षाको माग गर्दै गत १३ कात्तिकमा काठमाडौं आएको थियो।
नेशनल कलेजमा एमबीबीएस पहिलो वर्ष अध्ययनरत विद्यार्थीसँग कलेजले बोर्ड परीक्षाको फारम भर्ने समयमा अतिरिक्त रकम मागेको थियो। सरकारले उपत्यका बाहिरका मेडिकल कलेजहरुमा एमबीबीएस अध्ययन गर्न रु.४२ लाख शुल्क तोकेकोमा नेशनलले रु.५० लाखदेखि रु.६० लाखसम्म मागेको थियो।
अतिरिक्त रकम मागेपछि कलेज विरुद्ध आन्दोलनमा उत्रिंदा आफूहरुमाथि कलेज सञ्चालक अन्सारीले खटाएका व्यक्तिहरूले कुटपिट गरेको विद्यार्थीहरू बताउँछन्। चिकित्सा शिक्षा संघर्ष समितिका महासचिव अनित सिन्हाले कलेज सञ्चालककै संलग्नतामा विद्यार्थीमाथि कुटपिट भएको बताए।
कुटपिटपछि घाइते भएका एक विद्यार्थी भन्छन्, "७ कात्तिकमा होस्टलमा पढिरहेको थियौं। कलेज सञ्चालक बसरुद्दिन अन्सारीले करीब २५ जना गुन्डा बोलाएर कुटपिट गराए।"
ती विद्यार्थीको भनाइ उनकै शब्दमाः
६ कात्तिकमा सबै विद्यार्थी मिलेर कलेजले असुलेको अतिरिक्त रकम फिर्ता गर्न लिखित निवेदन दिएका थियौं। कलेज प्रशासनले सक्कल बिल बुझाए शुल्क समायोजन गर्छौैं भन्यो।
त्यही दिन २७ जनाले सक्कल बिल बुझायौं। तर शुल्क समायोजन भएन। लगत्तै हामीले फेरि निवेदन दिंदा कलेजले शुल्क समायोजन गर्ने प्रतिबद्धता दोहोर्यायो। कलेजको लेखा शाखाका कर्मचारीले छलफल गर्न ४ बजे बोलाए पनि हामी पुग्दा ती कर्मचारी भेटिएनन्। त्यसपछि कलेज सञ्चालक बसरुद्दीन अन्सारीलाई भेट्यौँ । तर, उनले बढी असुलेको रकम फिर्ता गर्न नसक्ने बताए।
भोलिपल्टदेखि हामीले आन्दोलन थाल्यौं । तर, अन्सारीले कलेजभित्र गुन्डा बोलाएर हामीमाथि कुटपिट गराए। त्यसपछि कलेज बाहिर आन्दोलन गर्यौं।
असुरक्षाका कारण साँझ कलेजभित्र छिर्न सक्ने अवस्था नदेखेपछि जिल्ला प्रशासन कार्यालयसँग सुरक्षा माग्यौं। प्रशासनले सुरक्षा दिएपछि मात्र साँझ कलेजभित्र छिर्न सक्यौं।
तर राति कोठामा पढिरहेका बेला एक्कासी करीब २५ जनाको टोली होस्टलभित्र पस्यो। उनीहरू कलेज सञ्चालक अन्सारीले खटाएका गुन्डा रहेछन्। उनीहरूले कोठामा झिनाझप्टी गरेर हाम्रो मोबाइल फुटाइदिए। र, छतमा लगेर कुटपिट गर्न थाले। छतबाट खसाल्दिने धम्की समेत दिए।
साथीहरूले प्रशासनमा फोन गरेर प्रहरी बोलाए। करीब २० मिनेटपछि प्रहरी आउँदा गुन्डाहरू भागिसकेका थिए। हामीले पहिचान गरेका १२ जना गुन्डाको नाम प्रहरीलाई दियौं। तर, अहिलेसम्म उनीलाई पक्राउ परेका छैनन्।
समाधान पाउनु साटो कलेज सञ्चालक अन्सारीको धाकधम्की अझ बढ्न थाल्यो। उनले एमबीबीएस पहिलो वर्षमा अध्ययनरत १०० विद्यार्थीमध्ये ६० जनालाई घर पठाइदिने र बाँकीलाई फेल गराइदिने धम्की दिन थाले। फोन मार्फत गुन्डाहरुको पनि धम्की आउन थाल्यो। त्यसपछि हामी असुरक्षा महसुस गरेर कात्तिक १३ गते काठमाडौं आएका हौं।
हामीले शुल्क समायोजन र सुरक्षाको माग राख्दै चिकित्सा शास्त्र अध्ययन संस्थानको डीन कार्यालयमा निवेदन दिइसकेका छौं। तर, अहिलेसम्म सुनुवाई भएको छैन। सुरक्षाको ग्यारेन्टी र शुल्क समायोजन नभएसम्म हामी वीरगञ्ज फर्किने अवस्थामा छैनौं।