निर्माणाधीन विराटनगर-धरान सडक अस्तव्यस्त, बढ्यो दुर्घटना
निर्माण शुरु गरेको ६ वर्षमा पनि विराटनगर–धरान सडकको काम पूरा नगरी अस्तव्यस्त छाडिंदा सडक दुर्घटना बढेको छ। ६ लेनको सडकका ठाउँठाउँमा खाल्डाखुल्डी हुँदा सवारी साधन दुर्घटना हुने क्रम बढेको स्थानीयहरु बताउँछन्।
सडकमा सवारी चाप बढ्नु र बाटो नबन्नु दुर्घटनाको प्रमुख कारण रहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ।
सोमबार मात्रै सो सडकमा मोटरसाइकल दुर्घटना हुँदा बुबा र छोरीको मृत्यु भएको छ। मोरङको बूढीगङ्गा गाउँपालिका वडा नं ३ स्थित शान्तिचोकमा विपरीत दिशाबाट आइरहेको को१ख ७२३२ नंको यात्रुबसले को२७प १०२२ नंको मोटरसाइकललाई ठक्कर दिंदा वडा नं ४ निवासी ५२ वर्षीय डा. सुवालाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जली गम्भीर घाइते भई उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो। अञ्जली स्टाफ नर्स रहेको बताइएको छ।
केही महीना अघि सुनसरी खनारमा सडकको निर्माणाधीन नालामा खसेर फुटबल खेलाडी शम्भु बाँस्तोलाको मृत्यु भएको थियो।
गत वर्षदेखि प्रदेश सरकारले सडक सुशासन लागू गरे पनि सवारी चाप, तीव्रगतिमा सवारी चलाउने, सवारी नियम पालना नगर्ने, निर्माणाधीन सडकका कारण सवारी दुर्घटना घट्न सकेको छैन।