हुम्लामा निजी एयरलाइन्सको उडान कटौती, टिकट पहुँचवालालाई मात्र !
हुम्लाका नागरिकले जिल्ला बाहिर जान हवाई टिकट नपाएको गुनासो गरेका छन्। राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गर्दा स्थानीयले सास्ती बेहोर्नुपरेको छ।
हुम्लाको सिमकोट विमानस्थलमा नेपालगञ्जबाट उडान गर्दै आएको सीता एयरलाइन्सले एक सातादेखि र समिट एयरलाइन्सले दुई दिनदेखि उडान बन्द गरेको छ। तारा एयरलाइन्सले दैनिक एक उडान गर्दै आए पनि कोठाबाट नै टिकट बुक गर्ने गरेको विमानस्थल पुगेका यात्रुले गुनासो गरेका छन्। जिल्ला बाहिर जान पहुँचवालाले मात्रै टिकट पाउने गरेका छन्।
निजी एयरलाइन्सले नियमविपरीत उडान गर्दा सबैभन्दा बढी विद्यार्थी मर्कामा परेका छन्। काठमाडौँमा अहेब अध्ययन गर्दै आएका गोरख तामाङले यही २८ कात्तिकदेखि आफ्नो फाइनल परीक्षा दिन जान टिकटका लागि चार एयरलाइन्सका कार्यालयमा धाउँदा पनि कोही नभेटिएको गुनासो पोखे।
सिमकोट गाउँपालिका–२ का प्रेम भण्डारीले सिमकोट विमानस्थलमा टिकटका लागि गत सातादेखि धाए पनि नपाएको दुखेसो गरे। सुर्खेत र नेपालगञ्जबाट नियमित उडान गर्ने सहमति गरेका सीता, तारा, र समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई टिकट पाउन मुस्किल भएको छ।
सिमकोट विमानस्थलका प्रमुख गौरीशङ्कर शाहले निजी एयरलाइन्सले नियमानुसार साताको एक उडान भरिरहेका बताए। उनका अनुसार, नेपाल एयरलाइन्सले भने एक सातामा तीन उडान गर्ने सहमति गरे पनि दुई उडान मात्र गर्दै आएको छ।
तीन/चार दिनको अन्तरालमा एक उडान गर्ने निजी जहाजले फोनका आधारमा कोठाबाटै टिकट बाँड्ने गरेको सिमकोट विमानस्थलमा भेटिएका सर्वसाधारणको गुनासो छ। जिल्लाका तल्लो क्षेत्रका हुम्लीलाई बाहिर जान सिमकोट पुगे पनि टिकट पाउन समस्या हुनुका साथै टिकटको पैसा होटलमा बास बसेर खाना खाँदैमा जाने गरेको गुनासो जनक सुनारले गुनासो गरे।
नेपालगञ्ज र सुर्खेतदेखि नियमित उडान नहुँदा दशैँ मनाएर जिल्ला बाहिर जाने यहाँका नागरिकलाई सास्ती भएको छ। बिहान ६:०० बजेदेखि विमानस्थलमा टिकटका लागि लाइन लागे पनि टिकट पाउन मुस्किल भएको उनले बताए।