‘घुम्ने मेचमाथि अन्धो मान्छे’ बेलायतमा पुरस्कृत
कवि भूपी शेरचनको लोकप्रिय कविता ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ बेलायतमा पुरस्कृत भएको छ ।
शेरचनको चर्चित यो कविताले सन् २०१८ को ‘स्टेफान स्पेन्डर प्राइज’मा तेस्रो स्थान हासिल गरेको हो । अनुवाद विधातर्फको यो पुरस्कारमा ‘१८ वर्षमुनिका’ प्रतियोगी सहभागी थिए ।
शेरचनको यो कवितालाई अनुषा गौतमले अनुवाद गरेकी हुन् । उनले कविताको शीर्षक ‘ब्लाइन्ड मेन अन द स्पिनिङ चेयर’ राखेकी छन् ।
पुरस्कृत कवितालाई ट्रष्टकै बुकलेटमा प्रकाशित गरिन्छ । शेरचनको यो कविता प्रकाशनका लागि ट्रष्टले उनको परिवारसँग अनुमति मागेको छ ।
चर्चित साहित्यकार स्टेफान स्पेन्डर (सन् १९०९–१९९५) को नाममा खोलिएको यो ट्रष्टले २००४ देखि पुरस्कार वितरण गर्दै आइरहेको छ ।
ट्रष्टले यो पुरस्कार बेलायतको प्रख्यात पत्रिका गार्डियनसँगको सहकार्यमा कविता प्रतियोगिता गर्दै आएको हो ।
आधुनिक नेपाली कविताका प्रखर, सर्वाधिक लोकप्रिय कवि शेरचनको ५३ वर्षकै उमेरमा निधन भएको थियो ।