अछामकी १२ वर्षीया गर्भवतीलाई काठमाडौं ल्याइँदै
अछाम रामारोशनकी १२ वर्षीया गर्भवती किशोरीलाई काठमाडौं ल्याइँदैछ ।
कुकुरले टोकेर खुट्टामा घाउ भएपछि अस्पतालमा नियमित रेबिजकाे सुई लगाउने क्रममा किशाेरी गर्भवती रहेकाे खुलेकाे हाे । पेट सुन्निएकाे बारे बुझ्दा गर्भवती रहेकाे रिपाेर्ट आएकाे थियाे ।
त्यसपछि बयलपाटा अस्पतालले एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) समेत भएको जिल्ला अस्पताल मंगलसेन पठायो ।
जिल्ला अस्पतालले किशोरीको जाँच गर्दा २२ हप्ताको गर्भ भएको रिपोर्ट आएको जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट डा.मनोज विष्टले बताए । उनले भने, “अहिले त स्वास्थ्य सामान्य देखिन्छ तर उमेर सानो भएकाले कुनै पनि बेला समस्या आउन सक्ने भएकाले सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको हो ।”
गरिब परिवारकी उनलाई गाउँपालिका उपप्रमुख, अधिकारकर्मी र पत्रकारहरुको पहलमा रकम संकलन गरी आफन्त तथा महिला प्रहरीको साथमा काठमाडौं ल्याइँदैछ ।
बिहीबार अछामबाट नेपालगञ्ज हुँदै शुक्रबार बिहान नेपालगञ्जबाट गाडी चढेको ती किशोरीसँगै रहेकी प्रहरी देवकी भट्टले बताइन् । उनले भनिन्, “आज बेलुका काठमाडौं आइपुग्ने र थप सरसल्लाह गरेर शनिबार वा आइतबार अस्पताल लैजान्छौं ।”
किशोरी बौद्धिक अपांगता भएका कारण कसले जबरजस्ती करणी गर्यो भन्ने बारेमा स्पष्ट बताउन नसकेको प्रहरीले बताएको छ । तर, उनले केही व्यक्तिको नाम लिएकाले उनीहरुसँग सोधपुछ तथा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
किशोरीका बाबुले पनि कसले छोरीलाई जबरजस्ती करणी गर्यो भन्ने बारेमा थाहा नभएको बताएका छन् । ती किशोरी गत बैशाखमा पहिलो पटक महिनावारी भएको आफन्तले बताएका छन् ।
नेपालमा ‘सुरक्षित गर्भपतन सेवा प्रकृया-२०६०’ कार्यान्वयनमा छ । यो सेवा प्रक्रियाको बुँदा नम्बर ९ अनुसार १२ हप्तासम्मको गर्भ गर्भवतीको मञ्जुरीमा पतन गर्न मिल्छ भने जबरजस्ती करणी, हाडनाता करणी भएको अवस्थामा १८ हप्तासम्मको गर्भपतन गर्न मिल्ने व्यवस्था छ ।
सम्बन्धित गर्भवती महिलाको ज्यानमा खतरा पुग्ने, सम्बन्धित गर्भवती महिलाको स्वास्थ्य शारीरिक वा मानसिक रूपले खराब हुने, विकलाङ्ग बच्चा जन्मने भएमा पनि चिकित्सको राय बमोजिम गर्भपतन गर्न सकिने कानुनी प्रावधान छ ।