चितवन राष्ट्रिय निकुञ्जमा दुई महीनामै चार गैंडाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा भदौयता कालगतिले चार वटा गैंडा मरेका छन्। भदौ ११ गतेदेखि कात्तिक ९ गतेसम्म विभिन्न स्थानमा चार वटा गैंडा मरेका हुन्।
निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार, पछिल्लो पटक कात्तिक ९ गते भरतपुर महानगरपालिका वडा नम्वर २५ को राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ४० वर्षको भाले गैंडा मरेको हो। बूढो भएर हिंडडुल गर्न र चर्न नसकेपछि निगरानीमा राखिएको गैंडा मरेको उनले जानकारी दिए।
यसअघि असोज २९ गते भरतपुर महानगरपालिका वडा नम्वर २८ को वरदाहा सामुदायिक वनमा एउटा गैंडाको हाडखोर भेटिएको थियो। त्यस अघि असोज ५ गते सौराहाको खोरसोरमा र भदौ ११ गते राप्ती नियन्त्रण सामुदायिक वनमा भाले गैंडा मृत भेटिएको थियो। ती सबै गैंडा कालगतीले मरेका हुन्।
गत वर्ष निकुञ्ज क्षेत्रमा कालगतीका कारण ४१ वटा गैंडा मरेका थिए। चोरी शिकारबाट गैंडाको मृत्यु हुने क्रम रोकिए पनि पछिल्ला वर्षहरुमा कालगतिबाट धेरै गैंडा मर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मृत्युका कारण अध्ययन गर्न समिति गठन गरेको छ।