धनुषामा छठको चहलपहल
छठ पर्व नजिकिंदै गर्दा मिथिला क्षेत्रमा चहलपहल शुरु भएको छ। विभिन्न ठाउँमा छठका लागि साप्ताहिक हटिया लागेको छ। जिल्लाका नगर क्षेत्र र साप्ताहिक हटियामा माटाका भाँडा, बाँसका कप्टेरा र चोयाले बनेका सामान तथा केराका घरी राखिएको छ।
छठ पर्वमा दियो, दही जमाउने भाँडा, कलश, ढकना र तौलासहितका भाँडा माटोकै प्रयोग गर्ने परम्परा छ। त्यसैगरी बाँसको कप्टेरा र चोयाले बनेका नयाँ छिटी, नाङ्लो, चाल्नो, पङ्खासहितका सामग्री प्रयोग गरिने परम्परा छ।
मिथिला क्षेत्रमा जताततै केराका घरीको बजार जमेको छ। छठमा व्रतालु र भाकल गर्नेले केराका घरी चढाउने अनिवार्य परम्परा छ। छठ पर्व मिथिलाको साझा पर्व जस्तै बनेको छ ।
कात्तिक शुक्ल चौथीका दिन शुरु भएर सप्तमीका दिन बिहान सम्पन्न गरिने छठ सूर्य उपासनाको पर्व हो । अहिले मिथिलामा जताततै सूर्य उपासनाका गीत गुञ्जिरहेका छन् ।