एनआरएनए स्पोर्टस् एकेडेमी सञ्चालन कति सहज
विदेशिएका र विदेशमै जन्मिएर संभावना बोकेका खेलाडीलाई मातृभूमिसँग जोड्न एनआरएनएले स्थापना गरेको स्पोर्टस् एकेडेमी महत्वपूर्ण भए पनि यसको सञ्चालन भने चुनौतीपूर्ण छ।
आठौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा गैर आवासीय नेपाली संघ (एनआरएनए) ले विभागीय टोलीको हैसियत प्राप्त गर्यो । नेपाली सेना, नेपाल पुलिस र सशस्त्र प्रहरी बल झैं एनआरएनएले खेलकुदको विभागीय टीमको मान्यता पाउनु महत्वपूर्ण विषय हो ।
अब एनआरएनए खेलकुदसँग प्रत्यक्ष जोडिएको छ । विदेशिएका प्रतिभाशाली र विदेशमा जन्मिएर राम्रो सम्भावना देखाएका खेलाडीहरूका लागि नेपाली खेलकुदको ढोका खुलेको छ । आठौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेर एनआरएनए खेलाडीहरूले १३औं दक्षिण एशियाली खेलकुद (साग) मा पनि स्थान बनाइसकेका छन् ।
योसँगै एनआरएनएको जिम्मेवारी बढेको छ । खेलाडीहरूको पहिचान गर्ने, राष्ट्रिय टोलीसम्म पुग्न बाटो देखाउने र पदक जित्ने गरी प्रशिक्षण दिनेसम्मको काम एनआरएनएको काँधमा छ ।
अब नेपाली खेलकुदको विकासमा टेवा दिने जिम्मेवारी पनि एनआरएनएको हो । नेपाली खेलकुदमा जोडिंदा एनआरएनएले गरेको वाचा पनि त्यही हो । भौतिक पूर्वाधार निर्माण, आर्थिक सहयोग, विदेशमा प्रतिस्पर्धा गर्न जाने नेपाली खेलाडीको सहजीकरण र विश्वका उत्कृष्ट प्रविधिसँग नेपाली खेलाडीलाई जोड्न एनआरएनएबाट सम्भव छ ।
खेलकुदका यी सबै काम व्यवस्थित गर्न एनआरएनएले स्पोर्टस् एकेडेमी स्थापना गरेको छ । एकेडेमी स्थापना गरेको घोषणा गर्दै एनआरएनएका निवर्तमान अध्यक्ष भवन भट्टले गैरआवासीय नेपाली खेलाडीहरूको सम्पूर्ण काम अब एकेडेमीले नै गर्ने बताएका छन् । एकेडेमीले प्रभावकारी रुपमा काम गर्न सक्नेमा भने कतिपयले प्रश्न उठाएका छन् ।
विगतमा पनि एनआरएनएले खेलकुद शाखा गठन गरेको थियो । तर, त्यसले प्रभावकारी रुपमा काम गर्न नसकेका कारण एकेडेमीप्रति एनआरएनए सदस्यहरू नै आशंका गरिरहेका छन् ।
एनआरएनए स्पोर्टस् एकेडेमीका अनुसार विश्वभर छरिएका गैरआवासीय नेपालीमध्ये ३० देखि ४० हजार खेलाडी, प्रशिक्षक, निर्णायक, खेल प्राविधिक र विज्ञहरू छन् । नेपाली खेलकुदमा योगदान गर्न नपाइरहेका यी सबैलाई मूलधारमा ल्याउने एकेडेमी अधिकारीहरू बताउँछन् ।
एकेडेमीमा खेलकुद आवद्ध व्यक्ति मात्र रहने अधिकारीले बताएका छन् । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को मातहतमा एक जना संयोजक, एक जना सदस्यसचिव र संसारभरबाट सदस्य रहने गरी एक अन्तर्राष्ट्रिय समन्वय समितिले एकेडेमी सञ्चालन गर्ने जनाइएको छ । जसका लागि एनआरएनएको ८३ शाखाबाट ८३ जना संयोजक हुने छन् ।
त्यस्तै एनआरएनएको ६ वटा क्षेत्र (ओसियनिया, अफ्रिका, युरोप, अमेरिका, मध्यपूर्व र एशिया प्यासिफिक) प्रत्येकबाट एक जना क्षेत्रीय उपसंयोजक रहने छन् । हरेक देशमा विधागत संयोजक पनि राख्ने बताइएको छ । काठमाडौंमा हुने गतिविधि व्यवस्थित गर्न ११ सदस्यीय सचिवालय रहनेछ ।
एकेडेमी प्रमुख सुदन थापाले खेलकुदलाई एनआरएनएको बलियो शक्तिको रुपमा अगाडि बढाउने बताए । उनी भन्छन्, “हाम्रो प्रयासले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपालले थप राम्रो नतिजा ल्याउने विश्वास छ ।” हाल विश्वभर एनआरएनएको खेलकुद गतिविधि कुनै न कुनै रुपमा भइरहेको छ । एकेडेमीले ती गतिविधिलाई एकै छाता मुनि समेट्ने उनले बताए ।
एकेडेमी सञ्चालनको मुख्य चुनौती बजेट व्यवस्थापन हो । खेलकुदका ठूला योजना पूरा गर्न सानो बजेटले पुग्दैन । स्पोर्टस् एकेडेमीका सदस्यसचिव श्रीराम घिमिरे भन्छन्, “एनआरएनएको स्रोतबाट नै कोष परिचालन हुनेछ, किनभने यो हामी सबैको सामूहिक दायित्व हो ।”
एकेडेमीको अर्को चुनौती हाल अस्तित्वमा रहेका खेलकुदका विभिन्न शाखाहरूको व्यवस्थापन हो । कतिपय एनआरएनए सदस्यहरू एकेडेमी र ती शाखाबीच खिचातानी हुनसक्नेमा चिन्ता व्यक्त गर्छन् । तर, सदस्यसचिव घिमिरे पहिले अस्तित्वमा रहेका खेलकुदसँग सम्बन्धित सङ्गठन एकेडेमीमा विलीन भएको बताउँछन् । अब एनआरएनएको सम्पूर्ण खेल गतिविधि एकेडेमी अन्तर्गत नै सञ्चालन हुने उनले बताए ।
ठूलो उद्देश्य राखेको एकेडेमीसँग नेपाली खेलकुदले राखेको अपेक्षा कति पूरा हुन्छ भविष्यले देखाउने छ । त्यसको पहिलो परीक्षा भने १३औं सागमा एनआरएनएका खेलाडीको सहभागिताबाटै हुनेछ ।