लक्ष्मीपूजामा बालिएको दियोबाट आगो सल्किँदा ६ लाखको क्षति
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ सल्यान कुमाल गाउँको एक घरमा आइतबार साँझ आगलागी हुँदा लाखौंको क्षति भएको छ। लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्किँदा स्थानीयवासी रुपा नेवारको रु.६ लाख बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए।
आगलागीबाट लक्ष्मीपूजाका लागि राखिएको नगद रु.एक लाख ५० हजार, पाँच तोला सुन, १० तोला चाँदी, पाँच माना सिक्का पैसासहित कोठाभित्र रहेको सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पूजाकोठाबाट शुरु भएको आगोले ढुङ्गा-माटोले बनेको तीन तले घरको पूजाकोठा जलेर नष्ट भएको छ।
साँझ ७:४५ बजेबाट शुरु भएको आगो राति ९:३० बजे स्थानीयवासी र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको थियो।
एक हप्तामा करोड बढी क्षति पछिल्लो एक सातामै जिल्लाको तीन ठाउँमा आगलागी भएको छ। ३ कात्तिकमा मात्रै सोही गाउँपालिका–१ का चन्द्रप्रकाश कोइरालाको तीनतले घरमा आगलागी भएको थियो।
यस्तै, ७ कात्तिकमा सोलुदूधकुण्ड नगरपालिका–११ को गन्जेडाँडाका खड्गबहादुर खड्काको घरमा आगलागी हुँदा रु.८५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।