नजर कार्यकारी अध्यक्षमा
दुई अध्यक्षले आलोपालो प्रधानमन्त्री बन्ने भद्र सहमति गर्दै एकता भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वबीच जिम्मेवारी बाँडफाँड सम्बन्धी तिक्तता सतहमै देखिएको छ।
२९असोजमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चाडपर्वको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल नै पूरा समय बसेनन् ।
कार्यक्रमको शुरूमै सम्बोधन गरेर मञ्चबाट बाहिरिएका अध्यक्ष दाहालको भोलिपल्ट चितवनमा आयोजित कार्यक्रममा चेतावनीयुक्त अभिव्यक्ति सुनियो । पार्टी एकताको वेला गरेको सहमति कार्यान्वयन नभएको भनेर असन्तुष्टि जनाउँदै आएका दाहालले ‘अर्को आन्दोलन गर्न मन लागेको’ चेतावनी दिए, जसले नेकपा पंक्तिभित्र ठूलै तरङ्ग ल्यायो ।
त्यसयताको सार्वजनिक अभिव्यक्तिमा पनि अध्यक्ष दाहालले पार्टीभित्र खट्पटी बढेको सङ्केत दिइरहेका छन् । ५ कात्तिकमा पाँचथर पुगेका दाहालले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्धमा कुनै समस्या नरहेको स्पष्टोक्ति दिए पनि पार्टी एकीकरणका वेला भएको समझदारी कार्यान्वयनको प्रसङ्ग निकालेका थिए ।
आलोपालो प्रधानमन्त्री हुने त्यसवेलाको भद्र सहमतिप्रति लक्षित दाहालको अभिव्यक्ति सार्वजनिक भएयता ओली निकट नेताहरू खण्डनमै उत्रिएका छन् ।
८ कात्तिकमा विराटनगर पुगेका नेकपाका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले आलोपालो प्रधानमन्त्री बन्ने सहमति नै नभएको बताए । राजनीतिक विश्लेषक श्याम श्रेष्ठ दाहालको अभिव्यक्ति पार्टीभित्र शक्ति बाँडफाँडसँग जोडिएको बताउँछन् । श्रेष्ठ भन्छन्, “विद्रोहको अभिव्यक्ति मार्फत दाहालले आफ्नो भूमिका खोज्दैछन्, यो उनको पुरानै शैली हो ।”
नेकपाकै नेताहरू समेत दाहालको अभिव्यक्तिलाई शक्ति बाँडफाँडसँगै जोडेर व्याख्या गर्छन् । नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने सरकार र पार्टी नेतृत्व आलोपालो गर्ने सहमति कार्यान्वयन नहुने सङ्केत देखेकाले यस्तो अभिव्यक्ति आएको हुनसक्ने बताउँछन् । न्यौपाने भन्छन्, “दुवै अध्यक्षमा प्रधानमन्त्री र पार्टी नेतृत्वको आसक्ति देखिन्छ । यसले दुवैको उँचाइ घटाएको छ ।”
दाहालको चेतावनीको जवाफ ओलीले पनि सार्वजनिक अभिव्यक्ति मार्फत दिनुले अध्यक्षद्वयबीच तिक्तता रहेको प्रष्ट पारेको छ । ओलीले पाँच वर्षसम्म यही सरकार रहने र समझदारी भएकै हो भने पनि समय आएपछि कार्यान्वयन हुने बताएका छन् ।
तर, नेकपाका महासचिव विष्णु पौडेल अध्यक्षद्वयबीचको सम्बन्धमा कुनै समस्या नआएको बताउँछन् । उनी भन्छन्, “उहाँहरूबीच जीवन्त, घनिष्ठ र हार्दिक सम्बन्ध छ । कसैको सार्वजनिक अभिव्यक्ति वा घटनाविशेषकै कारण यो सम्बन्धमा दरार आउने देखिंदैन ।”
सी भ्रमणको बाछिटा
पार्टी एकता भएयता अध्यक्ष दाहालले पहिलो पटक विद्रोहको चेतावनी दिएका भने होइनन् । यसअघि पनि ‘अर्को माओवादी जन्मिने’, ‘जङ्गल जान तयार रहेको’, ‘अर्को आन्दोलन चाहिएको’ जस्ता उनका अभिव्यक्तिले नेकपामा तरङ्ग नै ल्याएको थियो ।
तर, ती चेतावनीपछि पार्टी एकता प्रक्रियामा सम्मानजनक भूमिका पाएका दाहालले यस पटक पनि अर्को कार्ड फालेको हुनसक्ने पूर्व एमालेका नेताहरूको अनुमान छ । एक नेता भन्छन्, “रिक्त सभामुख पद र १४ मंसीरमा हुने उपनिर्वाचन लक्षित अभिव्यक्ति हुन सक्छ । उहाँले आफ्नो भूमिका खोजे पनि पार्टी एकता प्रभावित तुल्याउने र विद्रोह नै गर्न यसो भन्नुभएको होइन ।”
दाहालको चेतावनीको जवाफ ओलीले पनि सार्वजनिक अभिव्यक्ति मार्फत दिनुले अध्यक्षद्वयबीच तिक्तता रहेको प्रष्ट पारेको छ । ओलीले पाँच वर्षसम्म यही सरकार रहने र समझदारी भएकै हो भने पनि समय आएपछि कार्यान्वयन हुने बताएका छन् ।
३ जेठ २०७५ मा पार्टी एकता भएको आठ महीनापछि दाहालले ‘अर्को माओवादी जन्मन सक्ने’ चेतावनी दिएका थिए । दाहालले गत वर्षको माघमा यस्तो चेतावनी दिइरहँदा अध्यक्ष ओलीले मनोमानी गरेको भन्दै नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतले एकता प्रक्रियामा मापदण्ड निर्धारणको आवाज उठाउँदै आएका थिए ।
एकीकरण प्रक्रिया अवरुद्ध रहेको त्यो वेला दाहालको यस्तो चेतावनी चर्चाको विषय बने पनि नेकपामा प्रभाव भने देखिएन ।
अध्यक्ष दाहालले फेरि २२ वैशाख २०७६ मा जङ्गल जान तयार रहेको अभिव्यक्ति दिए । कार्ल मार्क्स द्विशतवार्षिकी समारोहले गरेको कार्यक्रममा गएर पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाएका दाहालले वरिष्ठ नेता माधवकुमार नेपालसँग निकटता बढेको सन्देश दिए ।
आफू विरुद्ध गठबन्धन बन्दै गएको बुझेकाे अध्यक्ष ओली एकता प्रक्रियामा मापदण्ड बनाउन राजी भए । केन्द्रमा मात्रै एकीकरण भएको नेकपा जिल्ला र स्थानीय तहसम्मै एकीकृत बन्यो ।
यस पटकको आन्दोलनको चेतावनी भने चिनियाँ राष्ट्रपति सी चिङफिङले २५–२६ असोजमा गरेको नेपाल भ्रमणका क्रममा दाहालले आफ्नो भूमिका चित्तबुझ्दो नपाएको मनोविज्ञानबाट प्रकट भएको देखिन्छ ।
नेकपाका एक नेताका अनुसार, दाहालले चाहे जस्तो भूमिकामा राष्ट्रपति सीसँग भेटवार्ता गर्न दिन ओली तयार थिएनन् । राष्ट्रपति, प्रधानमन्त्री र प्रतिपक्षी दलका नेतासँग मात्रै औपचारिक भेटवार्ताको कार्यक्रम तय भएको थाहा पाएपछि दाहाल ओलीसँग रुष्ट बनेका थिए । त्यसपछि दाहालले आफ्नै च्यानल प्रयोग गरी राष्ट्रपति सीसँग छुट्टै भेटवार्ता गरेका थिए ।
मन्त्री नरहेका नेकपा सचिवालय नेताहरूसँग सामूहिक भेटवार्ता हुनुअघि दाहालले सीसँग १५ मिनेट छुट्टै भेटेका थिए । स्रोतका अनुसार, दाहाल राष्ट्रपति सीलाई आफू आलोपालोमा प्रधानमन्त्री बन्ने र पार्टी अध्यक्ष समेत रहने जानकारी सहित भेट्न चाहन्थे । यस्तो तयारी प्रम ओलीलाई मन परेको थिएन ।
बलात्कार प्रयासको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई जोगाउन नलागेकोमा समेत दाहाल ओलीप्रति असन्तुष्ट छन् ।
नेकपाभित्र पूर्व माओवादी पक्षका नेताहरू प्रधानमन्त्री ओलीले चाहेका भए महरा प्रहरी हिरासतमा बस्ने अवस्था बन्दैनथ्यो भन्ने बुझाइमा छन् ।
चीन निकट मानिने महराकै कारण अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को ५० करोड डलर अनुदान रोकिएको भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिले समेत पूर्व माओवादी पंक्तिलाई सशङ्कित बनाएको छ ।
यस पटकको आन्दोलनको चेतावनी भने चिनियाँ राष्ट्रपति सी चिङफिङले २५–२६ असोजमा गरेको नेपाल भ्रमणका क्रममा दाहालले आफ्नो भूमिका चित्तबुझ्दो नपाएको मनोविज्ञानबाट प्रकट भएको देखिन्छ ।
महराकै कारण एमसीसी नरोकिएको जवाफ दाहालले तत्कालै फर्काउनुले पनि उनको अभिव्यक्तिमा महरा प्रकरणले काम गरेको बुझ्न गाह्रो छैन । महरा पक्राउले दाहाललाई पूर्व सहमति अनुसार भूमिका बढाउनुपर्छ भन्ने मनोविज्ञान थप बलियो बनाएको हुनसक्ने विश्लेषक श्रेष्ठ बताउँछन् ।
उनी भन्छन्, “अध्यक्ष र प्रधानमन्त्री दुवै भूमिकामा ओली रहँदा आफूहरू सुरक्षित छैनौं भन्ने तत्कालीन माओवादी पक्षलाई परेको देखिन्छ ।”
नेकपाका एक नेताका अनुसार, दाहालले आफू निकट नेताहरूसँग यसबारे सुझाव लिएरै राष्ट्रपति सी फर्किएको केही दिनमै आफूलाई आन्दोलन गर्न मन लागेको चेतावनी दिएका हुन् ।
भद्र सहमतिमा आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने भनिए पनि दाहाल पार्टीको जिम्मेवारी आफूले पाउनुपर्ने निष्कर्षमा पुगेका छन् । दाहालको यस्तो चाहनामा पूर्व एमालेतर्फका केही नेता समेत सहमत छन् ।
दुई पटक प्रधानमन्त्री भइसकेका दाहाललाई सरकारमा गएर भन्दा पार्टी नेतृत्व लिंदा नै उचित हुने सुझाव उनी निकट नेताहरूले दिंदै आएका छन् । स्थायी कमिटी सदस्य मणि थापा भन्छन्, “सहमति कार्यान्वयन गर्दा नै भावनात्मक एकता बलियो बन्छ । सरकारको नेतृत्व ओलीले गरे, पार्टीको जिम्मेवारी दाहालले लिंदा पार्टी र सरकार दुवैले गति लिन्छ ।”
अध्यक्ष ओलीले मिर्गौलाको उपचार गराउन सिङ्गापुर जानु अघिल्लो दिन ४ भदौमा आफ्नो अनुपस्थितिमा समेत दाहालले बैठक बोलाएर पार्टी निर्णय लिनसक्ने अधिकार दिएका थिए । तर, आफैंले दिएको अधिकारबारे समेत ओलीले प्रश्न उठाएपछि दाहाल झ्नै सशङ्कित बनेका छन् ।
प्राप्त अधिकारको प्रयोग गर्दै बैठक बोलाएर केही निर्णय समेत गरेका दाहाललाई ओलीले राष्ट्रपति सीको नेपाल भ्रमणमा पार्टी दुई अध्यक्षबाट चलेको देखिने गरी भूमिका नदिएको बुझाइ विकसित भएको छ । नेतृत्वले घटनाविशेषलाई लिएर धारणा बनाउनुलाई नेता न्यौपाने उचित मान्दैनन्, तर सरकार र पार्टी नेतृत्व बाँडफाँडको विषयमा दुवै नेता उदार हुनुपर्नेमा उनको जोड छ ।
केही समय अघिसम्म ओलीसँग तिक्ततापूर्ण सम्बन्धमा रहेका नेता नेपालको मौनताले पनि नेकपामा भूमिका निर्माणको विषय पेचिलो बनेको छ । स्वास्थ्य लाभको कामना समेत अस्वीकार गर्ने अभिव्यक्ति दिएका नेपाल ओली र दाहालबीचको वाक्युद्धमा मौन छन् ।
बरू, यसबीचमा आफूनिकट नेताहरूबाट चलेको फोरमलाई सक्रिय बनाउनुले उनी पनि पार्टीभित्र भूमिकाको खोजीमा रहेको देखाउँछ । नेकपाका नेता घनश्याम भुसाल पार्टीमा संस्थागत निर्णय नहुने दीर्घ रोगको उपचार नभएसम्म यस्ता समस्या आइरहने बताउँछन् ।
उनी भन्छन्, “दुई जनाबीच भएको सहमति कार्यान्वयनको प्रसङ्गमा कहिले रमाउने र कहिले कराउने कुराले हामीलाई नै लज्जित बनाएको छ ।”
उनी पार्टी निर्णयहरू बैठकबाट पारित भए अधिकांश समस्या समाधान हुने विचार राख्छन् । तर, तीन महीनामा बस्नुपर्ने स्थायी कमिटी बैठक पार्टी एकतापछि जम्मा एकपटक बसेको छ भने केन्द्रीय कमिटी बैठक अहिलेसम्म बोलाइएकै छैन ।