तिहारमा मिष्ठान्न: टल्किने मिठाईले बिगार्ला स्वास्थ्य !
तिहार भन्नेबित्तिकै फूल र बत्तीको मात्र चाड होइन, अनेक पकवान र मिठाई लगायत स्वादको समेत उत्सव हो। मिठाई भनेपछि के बच्चा के पाका, सबैको मुख रसाइहाल्छ।
तिहारमा भाइटीकाको लागि मिठाईको माग जसरी बढ्छ, उसैगरी बजारमा मिसावट गर्नेहरुको धन्दा पनि चौपट्टै मौलाउँछ। तपाईंले स्वाद लिएर खाइरहेको मिठाईमा कति मिसावट छ र स्वास्थ्यका लागि कति हानिकारक हुनसक्छ भनेर अनुमान गर्नै सक्नुहुन्न।
बजारमा मिठाईलाई आकर्षक देखाउन विभिन्न रङको प्रयोग गर्ने त छँदैछ, टल्किने वस्तुको पनि प्रयोग गरिन्छ। ग्राहकलाई लोभ्याउन चाँदी र एल्युमिनियमको पत्र हालिएको मिठाईकै दबदबा देखिन्छ, बजारमा। चिकित्सकहरुका अनुसार यस्ता चमकदार मिठाई स्वास्थ्यका लागि निकै घातक हुन्छ।
बजारमा पाइने मिठाईमा सिन्थेटिक दूध, गुणस्तरहीन तेल, चाँदी/एल्युमिनियमको पत्र र अखाद्य रङको प्रयोग गरिएको हुने चिकित्सकहरु बताउँछन्। यस्ता मिठाई खाएमा पेट बिग्रिने, कोलेस्ट्रोल बढ्ने, मानसिक विकासमा असर पार्ने लगायतका समस्या निम्तिन सक्छ। अखाद्य रङले क्यान्सरको जोखिम बढाउने भएकाले सजग हुनुपर्ने चिकित्सकहरु बताउँछन्।
बजारु मिठाई गुणस्तरहीन हुने भएकाले सकभर घरमै बनाइएको मिठाई प्रयोग गर्नुपर्ने चिकित्सकहरु सुझाउँछन्। एजेन्सीको सहयोगमा