तिहारको झिलिमिलीमा सचेत होऔं
अधिकांश नेपालीले हर्षोल्लासका साथ मनाउने चाड तिहार हिन्दूले मात्र नभई गैर हिन्दू धर्मावलम्बीले पनि मनाउँछन् ।
तिहार फूल, रङ र उज्यालोको चाड हो । घर उज्यालो भए लक्ष्मीको बास हुने जनविश्वास रहेकाले गर्दा तिहारमा मैन, विभिन्न रङका बिजुली बत्तीहरू र दियो बालेर घर उज्यालो बनाइन्छ । पाँच दिनसम्म मनाइने तिहारमा झिलीमिली बत्तीकै कारण विशेष रौनक हुन्छ ।
तीन वर्ष अघिसम्म लोडसेडिङले गर्दा शहरहरूमा समेत बत्ती बाल्न नपाउने अवस्था थियो । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिपछि (२०७३ साल) लोडसेडिङ हटेको छ ।
विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराई यस पटक तिहारमा बत्ती बालेर घर उज्यालो पार्न बिजुलीको कमी नहुने बताउँछन् । उनी अन्य समय भन्दा राजधानी तेब्बर बिजुली खपत हुने भए पनि प्राधिकरण आवश्यकतानुसार बिजुली आपूर्ति गर्न तयार रहेको बताउँछन् ।
उनी भन्छन्, “अहिले बिजुलीको कमी छैन, जति धेरै बत्ती बाले पनि फरक पर्दैन, चारैतिर बत्ती बालेर घर तथा शहर झिलिमिली बनाउन सकिन्छ ।”
भारत र चीनबाट आउने विभिन्न डिजाइनका रङ्गीचङ्गी बिजुली बत्तीले दियो तथा मैनबत्तीहरू विस्थापित भएका छन् । दियो व्यवसायी भक्तपुरकी मैया महर्जन लोडसेडिङ हटेपछि दियोको व्यापार घटेको बताउँछिन् ।
१४ वर्षदेखि माटोको दियो बिक्री गरिरहेकी उनले तिहारका वेला पहिले जस्तो बिक्री हुन छाडेको अनुभव गरेकी छन् । उनी भन्छिन्, “पहिला धेरै बिक्री हुन्थ्यो । अहिले त रङ्गीचङ्गी बिजुली बत्ती पाइन्छ । दियो कमैले मात्र किन्छन् ।”
भारत तथा चीनबाट वर्षेनि करोडौं मूल्य बराबरको रङ्गीचङ्गी बिजुली बत्तीहरू आयात हुने गरेको छ । काठमाडौं असनमा व्यवसाय गरिरहेका कुमार खड्का तिहारलाई लक्ष्य गरेर चिनियाँ रङ्गीचङ्गी बिजुली बत्तीको व्यवसाय पनि गर्छन् ।
उनी भन्छन्, “ग्राहकले जे बढी खोज्छन्, त्यही व्यवसाय गर्ने हो ।” उनी तिहारमा घर उज्यालो बनाउन टाँगिने बिजुली बत्ती लाख रुपैयाँसम्मको हुने बताउँछन् ।
उनका अनुसार ग्राहकको रोजाइ विचार गरी बल्ने–निभ्ने, अंश–अंश बल्ने, विभिन्न खालका बल्ब भएका रङ्गीचङ्गी बत्तीहरू आफूले बिक्री गर्ने गरेको बताए । भारतीय झिलिमिली बत्ती आए पनि चाइनिज बत्ती सस्तो पर्ने हुँदा आफूले त्यही बिक्री गर्ने गरेको बताउँछन् । उनी भन्छन्, “म चाइनाको झिलिमिली बिक्री गर्छु । इन्डियन भन्दा सस्तो पर्ने भएकोले ग्राहकको रोजाइ पनि चाइनिज नै हुन्छ ।”
काठमाडौं गैह्रीधाराकी कल्पना पौडेल भन्छिन्, “रङ्गीचङ्गी बिजुली बत्ती बाले पनि बरण्डा, आँगन र रङ्गोलीको वरिपरि त दियो नै चाहिन्छ ।”
बिजुली नपुगेका ठाउँहरूमा भने अझै दियो तथा मैनबत्ती बालेर घर उज्यालो बनाइन्छ । घर उज्यालो बनाउने क्रममा सचेत नहुँदा दुर्घटना पनि हुने गरेका छन् । बिजुली सर्ट भएर, दियो र मैनबत्तीबाट सल्किएर आगलागी हुँदा जनधनको क्षति भएका खबरहरू आइरहेका हुन्छन् । त्यस्तो दुर्घटना हुन नदिन होशियार हुनुपर्छ ।
भार प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराई भन्छन्, “चाडपर्वमा मात्रै होइन, बिजुली बाल्दा जहिल्यै होशियार हुनुपर्छ । विशेष गरी बत्ती धेरै बालिने समयमा बढी सचेत हुनुपर्छ ।” साथै उनी घरमा जोडिएको बिजुलीको भार क्षमतालाई पनि ध्यान दिन सुझाउँछन् ।
अहिले सुक्खा मौसम भएकोले आगो छिटो सल्किने र उत्पादन हुने स्रोतहरूको प्रयोग गर्दा विशेष सतर्कता अपनाउन बारुणयन्त्र काठमाडौंका प्रमुख लीलाराज गाछा मगर अनुरोध गर्छन् । उनी भन्छन्, “बिजुली बत्ती बाल्दा घरको बिजुलीको भार वहन क्षमता विचार गरेर मात्र प्रयोग गर्नुपर्छ । दियो र मैनबत्ती जस्ता चिजहरू बाल्दा निभाएर मात्रै अथवा सुरक्षित तवरले राखेर मात्रै सुत्न अनुरोध गर्छु ।”
प्रमुख गाछा मगरको अनुभवमा अन्य समयमा भन्दा तिहारको समयमा बढी आगलागी हुने गरेको छ । त्यसले गर्दा अन्य समयभन्दा अझ बढी तैनाथ भएर तिहारका वेला बस्ने गरेको बताए । भन्छन्, “आगलागी हुनासाथ १०१ मा फोन गरे हामी तुरुन्तै आगो निभाउन उपस्थित हुनेछौं ।”
‘सुक्खा मौसम भएकोले आगो छिटो सल्किने र उत्पादन हुने स्रोत प्रयोग गर्दा विशेष सतर्कता अपनाऔं।’