लोक स्टारले सम्मान दिएको छ : शनि विश्वकर्मा
पहिलो ‘आईएमई लोकस्टार’ को उपाधि विजेता शनि विश्वकर्मा संख्यात्मक भन्दा पनि गुणात्मक कुरामा ध्यान दिएर काम गर्ने बताउँछन् ।
१७ वर्षीय शनि विश्वकर्मा यो प्रतियोगिताले आफूलाई सम्मान दिएको बताउँछन् । शुक्रबार भएको लोक स्टारको फाइनल राउण्डमा तीन प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएका हुन् ।
प्रतियोगितामा विजयी भएका शनि शनिबार विहानैदेखि व्यस्त छन् । दिउँसो २ः४५ बजे हिमाल खबरसँग कुरा गर्दा बिहानको खाना भर्खर खाएर फेरि मिटिङका लागि तयार रहेको जानकारी दिँदै थिए ।
लोक स्टारले अवसरको ढोका खोलिदिएको र यो अवसरलाई सदुपयोग गर्दै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्ने लक्ष्य राखेको बताए।
उनले भने, "आईएमई लोक स्टारले लोकसंगीत क्षेत्रमा मात्र नभएर समग्र सांगीतिक क्षेत्रमा केही गर्ने अवसरको ढोका खोलिदिएको छ । यो मौकामा आफ्नो स्थान बनाउने कोशिस गर्नेछु ।"
रोल्पा जङकोटका शनि संख्यात्मक भन्दा पनि गुणात्मक कुरामा ध्यान दिएर काम गर्ने बताउँछन् । लोक स्टार भइसकेपछि आफूले पाएका प्रतिक्रियाहरु सम्झँदै भन्छन्, "लोक स्टारले सम्मान दिएको छ । प्रतियोगी भएदेखि मैले पाएको माया र सम्मान विजयी भएपछि झनै बढेको छ । सबैको माया र सम्मानले हौसला थपेको छ ।"
नगद ५० लाख रुपैयाँ र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा पुरस्कार जितेका विश्वकर्मा आफ्नो जीवनमा धेरै परिवर्तन भएको महशुस गर्छन्।
प्रतियोगितामा चेतन गोतामे दोस्रो भएका छन् । उनले २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन बीमा पुरस्कार पाएका छन् ।
तेस्रो पुरस्कार विनोद दनुवारले जितेका छन् । उनले १० लाख नगद र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जीवन बीमा पुरस्कार पाएका छन् । त्यस्तैगरी ‘पर्फमर अफ दि सिजन’को उपाधि रामकुमार नेपालीले जितेका छन्।