अलमल्याउने सल्लाहकार सभा
त्रिभुवन र महेन्द्रले आफ्नो राज्यकालमा बनाएको सल्लाहकार सभाले संसदकै जस्तो अभ्यास गरे पनि यसलाई राजनीतिक उद्देश्य पूरा गर्ने रूपमा उपयोग गरिएको थियो।
नेपालमा संसदको झल्को दिने तीन वटा सल्लाहकार सभा गठन गरिए । त्यसको सञ्चालन संसदकै जस्तो विधिबाट गरिन्थ्यो । म हालखबर पत्रिकामा काम गर्दा २०१५ जेठमा गठन भएको तेस्रो सल्लाहकार सभाको रिपोर्टिङ गरेको थिएँ ।
राजा महेन्द्रले मन्त्रिपरिषद्को सल्लाह अनुसार ६२ जनाको सभा गठन गरेर विज्ञप्ति मार्फत सार्वजनिक गरेका थिए । पछि सरकारका तर्फबाट १४ जना, राजनीतिक दलहरूबाट १० जना थपिंदा र मन्त्रीहरू पदेन सदस्य हुँदा सल्लाहकारको संख्या ९१ पुग्यो ।
सल्लाहकार सभामा नेपाली कांग्रेसले नेता सूर्यप्रसाद उपाध्याय र कृष्णप्रसाद उपाध्याय (भट्टराई), नेपाली राष्ट्रिय कांग्रेसले कीर्तिनिधि विष्ट र कृष्णप्रसाद रिमाल, नेपाल राष्ट्रवादी गोर्खा परिषद्ले मृगेन्द्रशमशेर र युगेश्वर बर्मा, नेपाल कम्युनिष्ट पार्टीले कमर शाह र कमलराज रेग्मी, संयुक्त प्रजातन्त्र पार्टीले काशीनाथ र सेमन्त राजलाई पठाएको थियो । सभाको अध्यक्ष पदका लागि चार जना उम्मेदवार बने । तेस्रो चरणको मतदानबाट सूर्यबहादुर थापा अध्यक्ष निर्वाचित भए ।
सल्लाहकार सभाको ढाँचाकाँचा सबै संसदकै जस्तो थियो । तर त्यो सभाको अवस्था ‘पानीको तिर्खा मोहीले मेट्दैन’ भने जस्तै थियो । मेरो विचारमा विभिन्न समयका तीन सल्लाहकार सभा जनता अलमल्याउन मात्र गठन गरिएका थिए । राजाले त्यो सभालाई आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने रणनीतिका रूपमा उपयोग गरे भन्ने लाग्छ । आवश्यक पर्ने सबै कुरा सल्लाहकार सभाबाट पारित गराएर महेन्द्रले ६ पुस २०१५ मा सभा भङ्ग गरेका थिए ।
मेरो लागि भने यो सभाको रिपोर्टिङ गरेको अनुभवले पछि संसदको रिपोर्टिङ गर्न धेरै सजिलो भयो । मैले सभाको गठनदेखि विघटनसम्मको रिपोर्टिङ गरें । सिंहदरबारको ग्यालरी बैठकमा हुने सभाको बैठकको रिपोर्टिङ गर्न हालखबर बाट म जान्थें भने नयाँ समाज बाट गोपालराज राजभण्डारी, रेडियो नेपाल बाट कहिले प्रकाशमान सिंह त कहिले भोग्यप्रसाद शाह आउँथे । एकाध पल्ट समाज बाट मणिराज उपाध्याय, नयाँ समाज बाट पशुपतिदेव पाण्डे, कहिले बालमुकुन्ददेव पाण्डे पनि आए ।
त्यसअघिको दोस्रो सल्लाहकार सभा राजा त्रिभुवनले २०११ वैशाखमा बनाएका थिए । सभाको २५ जेठमा भएको अधिवेशनमा राजा मात्र नभई युवराज महेन्द्रले पनि सम्बोधन गरेका थिए । १०६ सदस्यीय त्यो सभा २०१२ जेठमा भङ्ग गरियो । यस्तै, पहिलो सल्लाहकार सभा २००८ असोजमा गठन भएको थियो । शुरूमा ३५ सदस्य रहेको सभालाई पछि ५६ जनाको बनाइएको थियो ।
चुनाव गर्ने बहानामा एक सदस्यीय निर्वाचन आयुक्त बनाएर झारा टार्न थालिएपछि नेपाली कांग्रेस सहितका तीन दलले निर्वाचनको मिति तोक्न दबाब दिंदै २०१४ मंसीरमा भद्र अवज्ञा आन्दोलन गरे । त्यो आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टी पनि सहभागी भयो । तब मात्र राजा महेन्द्रले प्रथम आमनिर्वाचनको मिति तोके, ७ फागुन २०१५ देखि मतदान हुने भनेर । संविधान पनि १ फागुन २०१५ मा मात्र आयो ।
सल्लाहकार सभा संसद थियो ?
राजा त्रिभुवनले ७ फागुन २००७ को घोषणामा वैधानिक सभाको निर्वाचन गरी त्यस मार्फत बन्ने गणतन्त्रात्मक विधान बमोजिम शासन होस् भन्ने चाहना उल्लेख थियो । निर्वाचन गराउने उक्त घोषणामा ‘अहिले हाम्रो इच्छा र निर्णय भएकोले’ भन्ने वाक्यांश छ । त्यहाँ ‘अहिले’ शब्द किन आवश्यक पर्यो ? खासमा त्यो शब्द बडो योजनाबद्ध र सांकेतिक रूपमा राखिएको रहेछ । ‘अहिले इच्छा भएकाले’ उल्लेख गर्नुमा भोलि त्यो इच्छा नहुन सक्छ र निर्णय बदलिन सक्छ भन्ने आशय लुकेको रहेछ ।
नभन्दै चुनाव गराउने राजा त्रिभुवनको इच्छा र निर्णय समयक्रममा बदलियो । उनको राज्यकालमा कुनै निर्वाचन भएन । त्यसको आठ वर्षपछि संसदीय निर्वाचन गराउन पनि नेपाली जनताले धेरै पापड बेल्नुपर्योे ।
चुनाव गर्ने बहानामा एक सदस्यीय निर्वाचन आयुक्त बनाएर झारा टार्न थालिएपछि नेपाली कांग्रेस सहितका तीन दलले निर्वाचनको मिति तोक्न दबाब दिंदै २०१४ मंसीरमा भद्र अवज्ञा आन्दोलन गरे । त्यो आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टी पनि सहभागी भयो । तब मात्र राजा महेन्द्रले प्रथम आमनिर्वाचनको मिति तोके, ७ फागुन २०१५ देखि मतदान हुने भनेर । संविधान पनि १ फागुन २०१५ मा मात्र आयो ।
संविधान तर्जुमा गर्ने जनताको अधिकारलाई गिजोल्ने काम शुरू गरेका त्रिभुवनको निधनपछि उनका उत्तराधिकारी महेन्द्रले झन् गर्नु नगर्नु गरे ।
जनप्रतिनिधिले गर्ने शासनको प्रतिछायाँ दिन दुवै राजाले सल्लाहकार सभाहरू गठन नगरेका होइनन् । तर ती सभासँग संसदको जस्तो अधिकार नै थिएन ।