शरद हिमाल आरोहण : सगरमाथा आराेहण असफल, अन्य हिमालमा आरोही गन्तव्यतर्फ
यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन् ।
गत वर्षको यही याममा १७३ समूहका एक हजार ३९८ आरोहीले आरोहण अनुमति लिएका थिए । तुलनात्मक रूपमा यो वर्षको पछिल्लो विवरण अनुसार आरोहीको संख्या कमी रहे पनि अझै १५ कात्तिकदेखि २० सम्म आरोही आउने हुँदा आरोहीको संख्या बढ्न सक्ने पर्यटन विभागले जनाएको छ ।
यो याममा विभिन्न हिमाल तथा हिमशृंखला आरोहणका ५९ देशका आरोहीले अनुमति लिएका छन् । अघिल्लो वर्ष सोही याममा ६३ देशका आरोही हिमाल आरोहणका लागि आएका थिए ।
विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ आरोही समूहका २६४ र अमादब्लाम हिमाल आरोहणका लागि २३ समूहका २६१ले आरोहण अनुमति लिएका छन् ।
आरोहण अनुमति पाएका आरोही धमाधम गन्तव्यतर्फ लागिरहेका छन् । शरद ऋतुको हिमाल आरोहणका लागि बिहीबारसम्म रु ६ करोड १७ लाख ३६ हजार राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।
सगरमाथा आरोहण असफल
शरद ऋतुको यो याममा दुई आरोही समूहका १० जनाले सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएकामा आरोहण असफल भएको छ । यसका साथै ल्होत्से हिमालको आरोहण पनि असफल भएको विभागले जनाएको छ ।
सगरमाथा आरोहणका लागि दुई समूहमध्ये एक समूहमा एक मात्र स्पेनी नागरिकले अनुमति लिएका थिए भने अर्को नौ जनाको आरोही समूहमा अमेरिका र पोर्चुगलका समान चार जना र बेलायतका एक नागरिक थिए । उनीहरूले यो याममा आरोहण प्रयास गरे पनि असफल भएका हुन् ।
सगरमाथाको क्याम्प–२ सम्म पुगेर प्रयास गरे पनि आरोहण अगाडि बढ्न सकेन । अहिले सबै आरोही फर्किसकेको जनाइएको छ । यो याममा सगरमाथामा बाक्लो हिउँ पर्ने भएकाले आरोहणमा समस्या हुने गर्छ ।