परेवाका पारखी
सौखिनहरू घरका छतमा गुँड बनाएर जोडीको ३५ हजार रुपैयाँसम्म पर्ने परेवा पाल्छन्। यी परेवा उडान प्रतियोगितामा सहभागी गराइन्छ।
काठमाडौं पेप्सीकोलाका महेश कुइँकेल (४०) को बिहान परेवाको स्याहारमा बित्छ । हरेक दिन गुँडबाट परेवा बाहिर निकालेपछि सुली सफा गर्ने, चुन–पानी छर्किने र थालीमा पानी राखिदिने गर्छन् ।
सबै परेवा उडान प्रतियोगिताको लागि पालेका कारण दिनमा एकपटक दिउँसो तीन बजे मात्र चारो दिन्छन् । कुइँकेल भन्छन्, “चारो बढी खाएर मोटाए प्रतियोगिता हार्ने सम्भावना हुन्छ ।”
उनले १२५ जोडी परेवा पालेका छन् । परेवाका लागि छतमा रु.३ लाख खर्च गरेर बाक्लो जालीदार गुँड बनाएका छन् । त्यसभित्र माउ परेवालाई बच्चा कोरल्ने सानासाना प्वाल, पखेटा फट्फटाउन र घाम ताप्न मिल्ने कौसी, चारो र पानी राख्ने भाँडा र बत्ती जडान गरेका छन् ।
हरेक दिन गहुँ, धान, तोरी, चनाको दाल, मकै आदि मिसाएको पाँच केजी अन्न दिनुपर्छ । चारो अपच नहोस् भनेर पानीसँगै जीवनजल र अन्य औषधि पनि दिनुपर्छ । महीनामा एक पटक जाँचका लागि एक जना पशुपन्छी चिकित्सक आउँछन् ।
उनले परेवा पाल्न थालेको १७ वर्ष भयो । मासिक करीब रु.२५ हजार खर्च गरेर सोख पूरा गरिरहेका छन् । उनको गुँडमा कमगर, टेडी, चिनिटाउके, फिरोजपुरी, कागजी लगायत जातका परेवा छन् । तीमध्ये आँखामा रातो घेरा हुने कमगरलाई जोडीको रु.३५ हजार पर्ने उनी बताउँछन् । अन्य जातका परेवालाई जोडीको रु.१० हजार हाराहारी पर्छ ।
परेवा बिरामी भएको उनी परैबाट खुट्याउन सक्छन् । चुच्चो बाइरहेको छ भने मुखभित्र कुनै बस्तु अड्किरहेको हुन्छ, झोक्राएर बसेको छ भने चारो अपच भएको वा भाइरल लागेको हुन्छ । जाडो र गर्मीको बीचमा परेवालाई ‘न्युक्यासल’ नामको भाइरलले सताउँदा ज्वरो आउने र पातलो सुली निकाल्ने हुन्छ ।
उडानका लागि परेवा पालेका महेश कुइँकेल।
कुइँकेल भन्छन्, “बिरामी परेवालाई तुरुन्तै समूहबाट अलग गरेर जीवनजल र नूनपानी दिनुपर्छ ।” अक्सर जाडो र गर्मीको बीचमा परेवाको प्वाँख समेत झर्ने भएकाले ‘लासोटा भ्याक्सिन’ र भिटामिन दिइने उनी बताउँछन् ।
उज्ज्वल रिमाल (४०) काठमाडौं नयाँबानेश्वरका बासिन्दा हुन् । उनले घरको छतमा ८० जोडी परेवा पालेका छन् । २६ वर्षदेखि परेवा पालिरहेका रिमाल नेपाल परेवा उडान खेल संघका कोषाध्यक्ष हुन् । उक्त संघ २०७० सालमा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता हुँदा रिमाल संस्थापक थिए । हाल यो संघमा ९८ सदस्य छन् ।
नेपालमा २०५८ सालदेखि भइरहेको परेवा उडान प्रतियोगितामा रिमाल शुरूदेखि नै संलग्न छन् । उनको कमगर जातको परेवा २०७३ सालको प्रतियोगितामा एकल उडानतर्फ ४० प्रतियोगीका परेवालाई उछिन्दै सर्वोत्कृष्ट भएको थियो । उक्त परेवा आठ घण्टा ५२ मिनेट उडेको थियो । उनको गुँडमा पनि जोडीको रु.१० हजारदेखि रु.३५ हजारसम्म पर्ने परेवा छन् ।
यसरी दिइन्छ उड्ने तालिम
प्रतियोगिताका लागि पालिएका परेवालाई बच्चैदेखि उड्ने तालिम दिनुपर्छ । बच्चा डेढ महीनाको भएपछि जालीदार गुँडबाट बाहिर निकालिन्छ, तर कौसी बाहिर जान दिइँदैन । यसलाई पालकहरू ‘घर चिनाएको’ भन्छन् ।
आफ्नो गुँड र घर चिनिसकेपछि केही किलोमिटर टाढा लगेर छोडिदिए पनि परेवा गुँडमै फर्किन्छ । रिमाल भन्छन्, “यसरी पालेका परेवा बाजले खाएन भने घरै फर्किन्छन्, हम्मेसी अर्काको घरमा पनि बस्दैनन् ।”
हरेक दिन एकपटक मात्र चारो दिइने भएकाले यी परेवाको वजन हत्तपत्त बढ्दैन । कम वजन भएकाको पखेटा केही लामो र उड्नका लागि फुर्तिलो हुन्छ । परेवालाई दुवै हातले उठाएर आकाशतिर हुर्याएपछि आफ्नो गुँड माथिको आकाश वरिपरि घुम्दै उँचाइमा जान्छन् । यो अभ्यास नियमित भएपछि परेवा गुँडमाथि आकाशमा धेरैबेर उडेर कावा खाँदै फर्किन्छन् ।
परेवा पालकहरू बच्चा उत्पादन गर्न रगतको नाता नभएका भालेपोथीलाई सानो गुँडमा जोडा बनाएर राखिदिन्छन् । यसका लागि परेवाको सन्तान छुट्याउन खुट्टामा सानो कल्ली लगाइदिने गर्छन् । एउटै वंशबाट राम्रो बच्चा उत्पादन नहुने परेवा पालकहरू बताउँछन् ।
भारतसम्म उपहार र किनबेच
परेवाका सौखिन भारत गोरखपुरका एसामुद्दिन अन्सारी (४२) महेश कुइँकेलका साथी भएका छन् । अन्सारीले १४० जोडी परेवा पालेका छन् । कुइँकेलले उनलाई २०६५ सालमा कमगर र टेढी जातका सात जोडी परेवा उपहार दिएका थिए ।
अन्सारीले उपहार पाएका परेवा गोरखपुरमा आयोजित प्रतियोगिताको सामूहिक उडानमा उत्कृष्ट बनेका थिए । सातै परेवाको कुल उडान अवधि ६३ घण्टा १ मिनेट थियो ।
काठमाडौंमै पनि पालकहरूबीच परेवा किनबेच र उपहार आदानप्रदान हुन्छ । कुइँकेलले नै २०७५ सालमा चार जोडी परेवा रु.१ लाख २० हजारमा बेचेका थिए ।
राणा, शाह र धनाढ्य व्यापारीहरूले दशकौंदेखि भारतबाट परेवा ल्याई पाल्ने र सोखको रूपमा उडाउने गर्दथे । गोरखशमशेर जबरा आफ्ना बाबु केयूरशमशेर जबराले भारतका विभिन्न ठाउँबाट परेवा मगाएर पालेको सम्झिन्छन्। उनले अहिले १०० जोडी परेवा पालेका छन् ।
गोरखले बाबु केयूरशमशेरको नाममा २०७३ सालदेखि ‘केयूर रनिङ शिल्ड’ परेवा उडान प्रतियोगिता आयोजना गरिरहेका छन् । उनी हिमालयन परेवा उडान क्लबका संस्थापक अध्यक्ष पनि हुन् । आफू हरेक दिन झण्डै एक घण्टा परेवासँग खेल्ने बताउँछन् । गोरख भन्छन्, “परेवासँग खेल्दा तनावमुक्त भएको महसूस गर्दछु ।”