पूजा बोहरामाथि सामूहिक बलात्कार गर्ने दोषी ठहर
सर्वोच्च अदालतले सामूहिक बलात्कार पीडित पूजा बोहराको मुद्दामा तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले गरेको फैसलालाई उल्टाउँदै अभियुक्तलाई दोषी ठहर गरेको छ ।
न्यायाधीशद्वय सपना प्रधानमल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आज अभियुक्तलाई दोषी ठहर गरेको हो ।
नयाँ कार्यविधिअनुसार दोषीलाई कसूर सजाय निर्धारण भने अर्को सुनुवाइपछि मात्र तय हुनेछ । सर्वोच्च अदालतले जिल्ला अदालत बैतडीले गरेको फैसला सदर गरेको छ ।
विसं ९ पुस, २०६९ मा जिल्ला अदालत बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय भट्ट र अवस्थीलाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १३ वर्ष कैद र जनही ५०\५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
बैतडी जिल्ला अदालतले गरेको सो फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले उल्ट्याउँदै अभियुक्तद्वय भट्ट र अवस्थीलाई निर्दोष सावित गरेको थियो ।
तर सो फैसलालाई सर्वोच्च अदालतले उल्टाएको छ । सो पुनरावेदनको फैसलाविरुद्ध बोहराले सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दर्ता गरेकी थिइन् ।
सामूहिक बलात्कार पीडित बोहोरा २०६८ सालको एसएलसी परीक्षा चलिरहेका बेला गणित विषयको गेसपेपर किन्न जाँदा बैतडी जिल्ला भूमेश्वर–३ को जगन्नाथ पुस्तक पसलका सञ्चालक २३ वर्षीय सागर भट्ट र बैतडी गुजर–२ को चाँदनी फोटो स्टुडियोका सञ्चालक ३० वर्षीय अमर अवस्थीले सामूहिक बलात्कार गरेका थिए ।