७४औं राष्ट्रसंघ दिवस मनाइँदै
संयुक्त राष्ट्रसंघको ७४औं स्थापना दिवस बिहीबार विश्वका सबै सदस्य राष्ट्रमा विविध कार्यक्रमका साथ मनाइँदै छ ।
यसै अवसरमा राष्ट्रिय सभागृहमा बिहीबार बिहान नेपालस्थित राष्ट्रसंघीय कार्यालय र त्यसका विशिष्टीकृत १९ वटा संस्थाले चेतनामूलक कार्यक्रम आयोजना गरेका थिए ।
सो अवसरमा नेपालमा ती संस्थाले सम्पादन गरेका कामका साथै मानवअधिकारको संरक्षण, शिक्षा, स्वास्थ्य, गरीबी निवारण, लैङ्गिक समानता, विधिको शासन प्रवद्र्धनजस्ता विषयमा प्रस्तुति गरिएको थियो ।
युवा वर्गलाई सत्मार्गमा लगाउने तथा त्यस निम्ति संयुक्त राष्ट्रसंघको सान्दर्भिकता र युवामैत्री राष्ट्रसंघ विषयमा चार युवायुवतीले आ–आफ्ना अभिव्यक्ति दिएका थिए ।
यसै उपलक्ष्यमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले दिएको संक्षिप्त सन्देशमा संयुक्त राष्ट्रसंघको बडापत्रका चिरस्थायी आदर्शको परिपालना गरिरहँदा नयाँ–नयाँ समस्याले विश्व समुदायलाई गाँजिरहेको बताएका छन् ।
उनले विश्व र विश्ववासी ती समस्याको सामना गर्न अभ्यस्त रहेका पनि बताएका छन् ।
युद्धको विभीषिकाबाट विश्व र भावी पुस्तालाई बचाउन ७४ वर्षअघि आजकै दिन उक्त विश्व संस्थाको स्थापना भएको हो ।
सुरक्षा परिषद्का पाँच स्थायी राष्ट्र चीन, फ्रान्स, बेलायत, अमेरिका र तत्कालीन सोभियत संघसहितका राष्ट्रले संयुक्त राष्ट्रसंघ स्थापनासम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेसँगै यो विश्व संस्था अस्तित्वमा आएको हो ।