तिहारमा साढे दुई लाख बढी माला भारतबाट ल्याइदै
यस वर्षको तिहारमा गत वर्षभन्दा रु आठ लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १७ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा २५ लाख मालाको माग रहेको बताइएको छ ।
बजारमा फूलको माग बढे पनि स्वदेशमै उत्पादन राम्रो रहेकाले आयात गर्ने फूलमा भने कमी आउने भएको छ ।
मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ ।
यस वर्षको तिहारमा खपत हुने मालामध्ये दुई लाख ५० हजार माला मात्रै भारतबाट ल्याउने र बाँकी अन्य सबै स्वदेशी उत्पादनले नै पुग्नेछ ।
अघिल्ला वर्षको तुलनामा यस वर्ष ठिक समयमा तिहार परेको छ । जसका कारण स्थानीय फूल फुलिरहेका छन् ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ । व्यसायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएका हुन् ।
यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म बढी तिर्नुपर्ने देखिन्छ । गत वर्ष रु ५० देखि ६० भन्दा बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए ।
प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरे पनि माग बढेकाले केही माला भारतबाट ल्याउनुपर्ने अवस्था रहेको हो । तिहारमा मात्रै रु १५ करोड फूलको कारोवार हुने गरेको छ ।