ट्रम्पको ‘टेलस्पिन्’
महाअभियोग प्रक्रियाबाट विक्षिप्त डोनल्ड ट्रम्प जति छिटो अमेरिकी राष्ट्रपति पदबाट हटाइन्छन्, विश्वलाई उत्तिाकै राहत मिल्नेछ।
जब हवाईजहाज पाइलटको नियन्त्रण बाहिर जान्छ र उलटपलट गर्दै जमीनतिर झर्दछ, उड्डयनको भाषामा यस्तो अवस्थालाई ‘टेलस्पिन्’ भनिन्छ । टेलस्पिनमा जहाज र यात्रु बचाउन प्रायः असम्भव हुन्छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अहिले यस्तै ‘टेलस्पिन्’ मा छन् । यसबाट उत्पन्न असहजताले पूरै विश्व राजनीति मात्र होइन, प्राणी, हावापानी, बन्द–व्यापार, समाज समेत प्रभावित छ । उनको अराजक शैली र जथाभावी बोल्ने–गर्ने प्रवृत्तिबाट प्रत्यक्ष–परोक्ष दक्षिण एशिया र नेपाल पनि अछुतो रहन सक्दैनन् । अलि अगाडिको कुरो हो, ह्वाइट हाउसका स्टाफमाझ उनले नेपाल र भूटानलाई ‘निप्पल’ र ‘बटन’ भन्दै मजाक गरेको, तर त्यतातिर नजाऊँ ।
ट्रम्पबारे ठट्यौली गर्ने बेला गइसक्यो । हामी नेपालका नेता कम्तीमा ट्रम्प जस्ता त छैनन् भनेर सन्तुष्टि लिन सक्थ्यौं होला, तर संसारको सबैभन्दा धनी, प्रभावशाली र यसअघिसम्म लोकतान्त्रिक मुलुकलाई जसरी ट्रम्पले ‘डिस्म्यान्टल’ गर्दैछन्, अमेरिकाको ‘हार्ड’ र ‘सफ्ट’ दुवै पावर ध्वस्त जसरी पार्दैछन्, यसबाट हामी पनि चिन्तित हुनुपर्ने अवस्था आइसकेको छ ।
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित हुनु नै आश्चर्य थियो । स्वयं उनको मनसाय रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवारी हत्याएर ‘नेम रेकग्निशन्’ मार्फत आफ्नो होटल, गल्फ र निर्माण व्यवसायलाई टेवा दिने मात्र थियो ।
यसका लागि उनले आफूलाई दक्षिणपन्थी अभियन्ताका रुपमा ढाले, दक्षिणपन्थलाई जे जे मन पर्दछ, त्यही गर्न/भन्न थाले — ‘एन्टी–इमिग्रेशन’, पेस्तोल–बन्दूक खुला बिक्रीको हिमायती, उग्र–राष्ट्रवादी क्रिश्चियन दर्शन र अमेरिकाले ‘जे पनि गर्न सक्छ कसैले प्रश्न गर्न पाउँदैन’ भन्ने ‘एक्सेप्शनलिजम्’ ।
यो रणनीतिले ट्रम्प स्वयंलाई नचिताएको सफलता दिलायो । आफ्नो नाम मात्र प्रचारमा ल्याउँछु भनेको त राष्ट्रपति नै निर्वाचित हुन पुगे । मतदाताका लागि उनी संसारबारे अबुझ, स्त्रीद्वेषी, कर छल्ने असफल व्यवसायी भनेर प्रमाण भेटिंदा पनि केही लछारेन । मतदाताले आँखा चिम्लिदिए ।
सामाजिक सञ्जाल सिर्जित राजनीतिक माहोल लोकरिझ्याइँ प्रयोग गर्ने दक्षिणपन्थ नेताका लागि सहयोगी रहेको छ । अमेरिका र ट्रम्प मात्र होइन, विश्वका अन्य ठूला मुलुकका वर्तमान नेतृत्व हेर्दा पनि यो प्रमाणित हुन्छ — फिलिपिन्सका दुतर्ते, रुसका पुटिन, भारतका मोदी, ब्राजिलका बोल्सनारो, टर्कीका एर्दोगान भन्नुस् वा बेलायतका जन्सन् ।
आफू २०१५ को निर्वाचन जित्न रुसको सहयोग लिएका ट्रम्पले २०२० को आगामी निर्वाचन जित्न सजिलो होस् भनेर डेमोक्रेटिक प्रतिद्वन्द्वी जो बाइडेनमाथि अनुसन्धान गर्न युक्रेनका नेतालाई दबाब दिए ।
यो कुरा बाहिर आउने बित्तिकै अमेरिकी ‘हाउस’ की सभामुख न्यान्सी पेलोसीको नेतृत्वमा ट्रम्पमाथि महाअभियोगको तयारी भयो । त्यसपछि त ट्रम्पले मानसिक सन्तुलन नै गुमाए जस्तो भयो । पहिलेभन्दा उग्र हुन थाले ।
युक्रेनको संकट, चीनसँग व्यापार युद्ध, उत्तरकोरियासँगको असफल शान्ति पहल लगायत आफ्नो देशको अग्रणी भूराजनीतिक स्थान खस्किंदै गर्दा ट्रम्प भने आफ्ना उत्तेजनाले भरिएका ट्वीटद्वारा झनै अपत्यारिलो अभिव्यक्ति दिंदै थिए ।
एक्कासी गतहप्ता उनले उत्तर सिरियामा उग्र इस्लामिक सङ्गठन आइसिस्सँग लडिरहेका साहसी कुर्द लडाकूलाई ठहरै पारिदिए, अमेरिकी सैनिक दस्तालाई उत्तर सिरियाबाट रातारात हट्ने आदेश दिएर । कुर्द समुदायलाई टर्कीका एर्दोगानसामु बलि नै चढाइदिए ।
कुर्द माथिको यस्तो विश्वासघात पश्चात् बल्ल केही रिपब्लिकन पार्टी प्रतिनिधिले अमेरिकाको लागि ट्रम्पको खतरा महसूस गर्न थालेको देखिन्छ । जब आफ्नो कार्यको परिणाम ट्रम्प स्वयंले बुझे, उनले एउटा बहुलट्ठी पाराको पत्र एर्दोगानलाई लेखे, जो आधुनिक भूराजनीतिक विश्व इतिहासमा शायदै लेखिएको होस् । (हे. पत्रको अनुवाद, ट्रम्पको हस्ताक्षर सहित ।)
सुने अनुसार तुर्की राजधानी अन्कारामा एर्दोगानले पत्रलाई रद्दी टोकरीमा फालिदिए ।
संयुक्त राज्य अमेरिकाको ऐतिहासिक गल्तीका वाबजूद उसको स्थिरता संसारकै लोकतान्त्रिक भविष्यका लागि सबैभन्दा महत्वपूर्ण हो । पूरै संसारको शान्ति र प्रगतिमा अमेरिकाको प्रभाव पर्दछ र यसै कारण अमेरिकी लोकतन्त्र बचाउनु हामी सबैको हितमा छ ।
पूरै विश्वलाई अराजक र अस्थिर बन्न नदिन पनि डोनल्ड ट्रम्पलाई महाअभियोग लगाइनुपर्छ, उनलाई पदबाट हटाइनुपर्छ ।