कतारमा पाँच नेपाली युवा अलपत्र
वैदेशिक रोजगारीका कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन् ।
केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन् ।
६ महीनाअघि कतारको राजधानी दोहास्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एण्ड सर्भिसेस कम्पनीमा पु¥याएर अलपत्र पारिएको पीडित युवराजले बताए ।
“चार महीनासम्म लेबरको काम लगायो” उनले भने, “कम्पनीले सम्झौता विपरीत काम लगाए पनि तलब समेत नदिएको र अहिले मेनोफ्युज सप्लाइ कम्पनीले भने खान र बस्न दिएर राखेको छ ।”
काठमाडौँको धुम्बाराहीस्थित टाईगर ओभरसिस मेनपावर कम्पनीमा प्रतिव्यक्ति रु ८० हजार बुझाएर उनीहरु कतार पुगेको पीडित युवराजका दाजु राजकुमार तामाङले बताए ।
“इलेक्ट्रिसियनको काम भनेर मेनपावर कम्पनीले सम्झौतापत्र देखाएपछि मैले नै सबैजनाको धरौटीबापतको रकम बुझाएको थिएँ” उनले भने, “कतार पु¥याएपछि चार महीना लेबरको काम दियो तर, एक पैसा दिएन ।”
चार महीनासम्म कम्पनीले तलब नदिएपछि दोहास्थित लेबरकोटमा उजुरी दिंदा समेत कुनै सुनुवाइ नभएको अलपत्र परेका युवाको गुनासो थियो । दुई महीनादेखि काम र शुरुदेखि नै दाम नपाएर अलपत्र बनेका आफूहरूललाई उद्धार गरेर नेपाल फर्काउन उनीहरुले सम्बन्धित निकायमा गुहार मागिरहेका छन् ।
उनीहरुलाई कतार पठाउने धुम्बाराहीस्थित टाईगर ओभरसिस मेनपावर कम्पनी अहिले बन्द रहेको पीडितका दाजु राजकुमारले बताए । “१४ फागुन २०७५ मा प्रवेशाज्ञाा आएको देखाउँदै धरौटी रकम बुझेर चार महीनापछि गत २३ जेठ २३ मा उडायो” उनले भने, “अहिले उनीहरू बसुन्धारामा राप्ती म्यानपावर कम्पनी खोलेर बसेका छन् ।”
उता मेनपावर कम्पनीका प्रबन्ध निर्देशक गोविन्द शिवाकोटीले भने उनीहरुले बिना कारण काम छाडेर बसेको बताए ।