अझैं सकिएन भद्रगोल र सक्किगोनी विवाद
नेपाल टेलिभिजनबाट प्रसारित हास्य टेलिशृंखला ‘भद्रगोल’ र भर्खरै नेपाल टेलिभिजनबाट नै प्रशारण शुरु भएको ‘सक्किगोनी’ बीच कपिराइट विवाद शुरु भएको छ ।
मिडिया हबको प्रस्तुतिमा भद्रगोलका पुराना टिमसँग सम्झौता अनुसारको आर्थिक लेनदेनमा कुरा नमिलेपछि त्यही टिमले सक्किगोनी शुरु गरेको जेपिटी टिमले बताउँदै आएको छ ।
जेपिटी क्रियशन (जिग्री पाँडे टिम) ले शुरु गरेको सक्किगोनीमा पुराना भद्रगोल टिमका पात्र तथा कथाकाे निरन्तरता छ भने उता मिडिया हबले भद्रगोललाई निरन्तरता दिँदै नयाँ कलाकारलाई ल्याएको छ ।
मिडिया हबले युट्युबमा राखेको भद्रगोलको भिडियोमा नकारात्मक प्रतिक्रिया बढी आएको देख्न सकिन्छ । उता भद्रगोलको उही पात्र र कलाकार सहित शुरु भएको सक्किगोनी भने दर्शकको सकारात्मक प्रतिक्रिया सहित युट्युबमा ट्रेन्डिङमा परिरहेको छ ।
यसैबीच मिडिया हबले भने भद्रगोल आफ्नो सिर्जना सक्किगोनीले लगेको आरोपमा कपिराइटको मुद्दा लगाउने तयारी गरिरहेको संचालक सोम धितालले बताए ।
उनले भने ‘हामी सकेसम्म अदालत नगई आपसमा समझदारी गरेर अगाडि बढ्ने योजनामा छौं । र जेपिटीलाई यस्तो नगर्दिनुहोस् हामीलाई अप्ठ्यारो पर्यो भनेर पत्र पठाएका छौं । उहाँहरुले बसेर कुरा गरौंला भन्नुभएको छ ।’
सक्किगोनी (जेपिटी) ले आफ्नो अनुरोध बेवास्ता गरे अदालत जाने योजना रहेको धितालले जानकारी दिए ।
उनले भने ‘हामी सकेसम्म आपसमा सहमति गर्ने हो उहाँहरुले बेवास्ता गरे हामी अदालत जाने तयारीका साथ आवश्यक कागजपत्रहरु तयार पारिरहेका छौैं ।’ धितालले जिग्री, पाँडे जस्ता चरित्र आफ्नो लगानीमा स्थापित भएकोले यी चरित्रहरु मिडिया हबको रहने जिकिर गरे । भन्छन् ‘उहाँहरुको सिर्जना भए पनि सिर्जनाको लागि हामीले लगानी गरको हुनाले यी चरित्रहरु पनि हाम्रै हो भन्ने हाम्रो जिकिर हो ।’
उता जेपिटी क्रियशनले भने मिडिया हबले आफूहरु विरुद्ध उजुरी परिसकेको बताउँछन् । सक्किगोनीका निर्देशक एवं कलाकार अर्जुन घिमिरे (पाँडे) का अनुसार हनुमान ढोका स्थित प्रहरी परिसरले शुक्रबार दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।
उनी भन्छन् ‘हामी बिरुद्ध टेकुमा उजुरी परेको रहेछ । गएका थियौं, शुक्रबार थप छलफलका लागि बोलाउनुभएको छ ।’
महानगरी प्रहरी अपराध महाशाखा स्रोतका अनुसार जेपिटी क्रियशन विरुद्ध भेषभुषा र पात्र कपिराइटको उजुरी परेको छ । उजुरीबारे अनुसन्धान भइरहेको स्रोतले बताएको छ । सक्किगोनी पाँच भागसम्म प्रशारण भइसकेको जेपिटी क्रियशन अर्को नयाँ भागको सुटिङमा व्यस्त छन् ।