फरहदवा विस्फोटमा प्रहरीकाे भूमिका शंकास्पदः तत्कालिन प्रजिअ भण्डारी
रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटको घटना हुँदा तत्कालिन प्रमुख जिल्ला अधिकारी रहेका दुर्गा भण्डारीले आफूले प्रहरीलाई सत्यतथ्य बुझेर घटनाको अनुसन्धान गर्न निर्देशन दिएको बताएका छन्।
“बम विस्फोट भएको थियो, प्रहरी घटनास्थलमा पुगेका पनि हुन्”, तत्कालिन प्रजिअ भण्डारीले हिमालखबर सँग कुरा गर्दै भने, “तत्कालिन अवस्थामा प्रहरीको भूमिका ठीक देखिएन, मैले राष्ट्रिय मानवअधिकार आयोगसँगको वयानमा पनि यही कुरा भनेको छु ।”
२७ चैत २०६४ साँझ ६.१५ बजे रौतहट–२ बाट नेपाली कांग्रेसका तर्फबाट संविधान सभाको निर्वाचनमा उम्मेदवार रहेका मोहम्मद आफताब आलमले चुनाव प्रभावित गर्ने उद्देश्यले बम बनाउने क्रममा विस्फोट हुँदा २ नेपालीसहित भारतीय नागरिकहरूको मृत्यु भएको थियो । तर, मृतकको संख्या यकिन हुन सकेको छैन ।
स्थानीयका अनुसार, विस्फोटमा घाइते तथा मृतकहरुलाई नजिकैको इँटाभट्टामा जलाएको आरोप आलममाथि छ ।
१२ वर्ष पुरानो मुद्दामा २६ असोजमा पक्राउ परेका आलमले २ कार्तिकमा सरकारी वकिल कार्यालयमा दिएको वयानमा घटना कपोलकल्पित भएको बताएका छन् ।
तत्कालिन अवस्थामा रौतहटको प्रजिअ रहेका भण्डारीले भने घटना भएको थाहा पाएलगत्तै आफूले प्रहरीलाई सत्यतथ्य बुझन जानकारी निर्देशन दिएको र प्रहरी घटनास्थलमा गएको बताएका छन् ।
तत्कालिन प्रहरी प्रमुख रहेका एसपी लक्ष्मण न्यौपानेले बिस्फोटबाट भएको मानवीय क्षति बारे आफूलाई कुनै रिपोर्टिङ नगरेको भण्डारीको दाबी छ ।
चुनावको व्यस्तताले सवै कुरा बुझ्न नपाएको बताउँदै उनले आफ्नो बढुवा भएकाले मतगणना सकिएको भोलीपल्टै काठमाडौं आएको र त्यसपछि घटनाबारे अनभिज्ञ रहेको बताए ।
घटनाकै रात इलाका प्रहरी कार्यालयका प्रहरी इञ्चार्जको सरुवा भएको विषय आफ्नो जानकारीमा नरहेको र अहिले पत्रपत्रिकामार्फत थप कुरा थाहा पाइरहेको पनि भण्डारीले बताए ।