पारसकाे नजर : क्रिजबाट क्यानतिर !
पारस खड्काले क्यानको नयाँ नेतृत्वलाई काम गर्न सजिलो बनाइदिन राजीनामा दिएको बताए पनि अहिलेका पदाधिकारीसँग विगतको तीतो सम्बन्धलाई कारक मानिएको छ।
धेरैलाई आश्चर्यमा पार्दै पारस खड्काले २८ असोज मध्याह्न राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा घोषणा गरे । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको प्रतिबन्ध हटाएको भोलिपल्टै आएको उनको राजीनामाले नेपाली खेलजगतमा तरङ्ग ल्यायो ।
सिङ्गापुर र ओमानमा हुने टी–२० श्रृंखला खेल्न जानुअघि २ असोजमा भएको पत्रकार सम्मेलनमा उनले सन् २०२३ को एक दिवसीय विश्वकप छनोटसम्म टोलीको नेतृत्व गर्ने सड्ढेत गरेका थिए । तर, ओमानबाट फर्केलगत्तै उनले एक दशक लामो कप्तानी भूमिका त्यागेको घोषणा गरे । उनी सबैभन्दा लामो समय नेतृत्व गर्ने एसोसिएट मुलुकका कप्तान हुन् ।
सिङ्गापुर र ओमानमा नेपाली टोलीको प्रदर्शन औसत हुँदा खड्काले राम्रो खेलेका थिए । सिङ्गापुर विरुद्ध अविजित १०६ रन बनाउँदै पारस टी–२० मा शतक हान्ने पहिलो नेपाली खेलाडी बने ।
त्यति मात्र नभई टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने विश्वकै पहिलो कप्तान पनि भए । नयाँ–नयाँ रेकर्ड बनाइरहेका खड्काले अकस्मात् दिएको राजीनामाबारे समयान्तरमा रहस्य खुल्दै जाने नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डे बताउँछन् ।
पारसले सामाजिक सञ्जाल मार्फत कप्तानबाट राजीनामाको घोषणा गरेको दिन पहिलो पटक हुन गइरहेको वुमेन्स च्याम्पियन्स लिग (डब्लुसीएल) बारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
खड्काले त्यहीं पुगेर नवनिर्वाचित क्यान पदाधिकारीलाई राजीनामाको औपचारिक मौखिक जानकारी दिए । उनले अब कप्तानको भूमिकामा नफर्कने तर, क्यानले टीममा राखे देशका लागि खेल्ने पनि बताए । तर, त्यतिवेलासम्म नवनिर्वाचित क्यान पदाधिकारीले औपचारिक रुपमा काम थालेकै थिएनन् ।
यता क्यान अध्यक्ष चतुरबहादुर चन्द पारस खड्काको राजीनामाले अझै औपचारिकता नपाएको बताउँछन् । उनी भन्छन्, “क्यानमा औपचारिक राजीनामा आएको छैन, मैले राजीनामा घोषणा फिर्ता लिन अनौपचारिक आग्रह गरेको छु ।
पारस पूर्ववत् भूमिकामा फर्कंदा नै नेपाली क्रिकेटलाई सहयोग पुग्छ ।” कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २९ असोजमा भएको डब्लुसीएलको उद्घाटन कार्यक्रममा पनि चन्दले पारसलाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।
क्यानका एक पदाधिकारी भने नयाँ नेतृत्व निर्माण नगरी खड्काले हतारमा राजीनामा दिएको बताउँछन् । उनी भन्छन्, “पारसले कप्तानबाट राजीनामा गर्ने यो उपयुक्त समय थिएन ।”
राष्ट्रिय टोलीबाट खड्कासँग मैदानमा लामो समय बिताएका शक्ति गौचन पनि ती पदाधिकारीसँग सहमत छन् । “नेपाली क्रिकेटलाई अझै पारसको कप्तानीको आवश्यकता छ” उनी भन्छन्, “नयाँ कप्तान तयार पारेर विदा लिनुपथ्र्यो, पारसले हतारमा निर्णय गरे ।” क्यान नेतृत्वले खड्कालाई फिर्ता बोलाउनुपर्ने उनको तर्क छ ।
क्यान पदाधिकारीसँगको ‘इगो’
क्यानको नयाँ निर्वाचनबाट नेतृत्वमा पुरानै अनुहार आएका कारण काम गर्न नसक्ने बुझाइका कारण खड्काले राजीनामा दिएको हुनसक्ने स्रोतको भनाइ छ ।
सन् २०१४ मा नियमित पठाउनुपर्ने चौमासिक रिपोर्ट नबुझाएको भन्दै क्यानले पाउने कोषबाट आईसीसीले ८४ हजार डलर कटौती गरेको थियो । त्यसलगत्तै बाङ्लादेशमा भएको टी–२० विश्वकप खेलेर फर्किएका खेलाडीले खड्काको नेतृत्वमा क्यानका तत्कालीन पदाधिकारी विरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै नाराबाजी गरेका थिए ।
खड्काकै नेतृत्वमा खेलाडीले पत्रकार सम्मेलन गरेर पदाधिकारी विरुद्ध आन्दोलन घोषणा गरेका थिए । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी पनि दिएका थिए । त्यतिवेला अहिलेका क्यान अध्यक्ष चन्द उपाध्यक्ष थिए भने महासचिव अशोकनाथ प्याकुरेल नै थिए । अख्तियारले क्यानका तत्कालीन अध्यक्ष टड्ढ आङबुहाङ, उपाध्यक्ष चन्द, अर्का उपाध्यक्ष विनोद मैनाली, महासचिव प्याकुरेल सहित १० जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
पदाधिकारी विरुद्ध आन्दोलन गरेपछि क्यानले खड्कालाई कप्तानबाट हटाउने निर्णय गरेको थियो । तर, सो निर्णय औपचारिक रुपमा सार्वजनिक नहुँदै राजनीतिक हस्तक्षेप, आर्थिक अनियमितता लगायत कारण देखाएर आईसीसीले क्यानलाई नै निलम्बन गरेको थियो । त्यसपछि आईसीसीको सीधा सम्पर्कमा रहेका खड्काले खेलाडी, कप्तान र छनोटकर्ताको शक्तिशाली भूमिका पाए ।
जसका विरुद्ध आन्दोलन गरिएको थियो तिनै व्यक्तिहरू फेरि पदाधिकारीमा निर्वाचित भएपछि नैतिकताका आधारमा खड्काले राजीनामा दिएको हुनसक्ने आकलन पनि गरिन्छ । तर, क्यानका नवनिर्वाचित अध्यक्ष चन्द विगतलाई बिर्सिएर अगाडि बढ्नुपर्ने बताउँछन् । उनी भन्छन्, “अनौपचारिक भेटमा विगत बिर्सेर नयाँ यात्रा थाल्न पारसलाई सुझाएको छु ।”
राष्ट्रिय टोलीका पूर्व सदस्य शक्ति गौचन पनि क्यानको नयाँ नेतृत्वप्रति खड्काको पुरानै बुझाइले काम गरेको हुनसक्ने बताउँछन् । “तर, त्यो गल्तीको सजाय क्यान, नेपाली क्रिकेटर र तत्कालीन पदाधिकारीले भोगिसकेकाले उहाँहरूलाई पारसले अवसर दिनुपर्छ” उनी भन्छन् ।
क्यान नेतृत्वको चाहना
खड्काले पटकपटक भविष्यमा आफू क्यानको नेतृत्वमा पुग्ने अभिव्यक्ति दिइसकेका छन् । कप्तानबाट राजीनामा दिएपछि पनि पत्रकार सम्मेलनमा उनले भविष्यमा क्यानको नेतृत्व गर्ने चाहना व्यक्त गरे ।
प्रतिबन्ध हटाउनुअघि आईसीसीद्वारा गठित क्यानको विधान मस्यौदा समितिका सल्लाहकार रोहित दाहाल कप्तानबाट राजीनामा दिएर खड्का क्यानको नेतृत्व लिनेतर्फ अगाडि बढेको हुनसक्ने अनुमान लगाउँछन् । उनी भन्छन्, “खेलाडीबाट सन्न्यास लिएको दुई वर्षपछि मात्रै क्यानको पदाधिकारी बन्न सकिने विधानमा व्यवस्था छ । उनले यो व्यवस्थालाई ख्याल गरेको हुनुपर्छ ।”
क्यानका पूर्व अध्यक्ष पाण्डे खड्काले क्यानको नेतृत्व लिने बाटो रोजे त्यो स्वागतयोग्य हुने बताउँछन् । उनी भन्छन्, “राजनीतिक नेतृत्वबाट क्यानमा आएकाले भन्दा राष्ट्रिय जर्सी लगाएर हुर्किएकाहरूले नै क्रिकेटलाई माथि उठाउन सक्छन् ।” खड्का क्यानको अध्यक्ष बन्ने आधार र अनुभव पनि भएको पाण्डेको दाबी छ ।