चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको अस्थिपञ्जर भेटियो
चितवन राष्ट्रिय निकुञ्जले वर्षातपछि शुरु गरेको खानतलासी अभियानका क्रममा एउटा गैंडा मृत भेटिएको छ । बर्दा सामुदायिक वनअन्तर्गतको नारायणी नदीको भङ्गालोमा गैंडाको अस्थिपञ्जर भेटिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार वर्षातका कारण निगरानी पुर्याउन कठिन भएका स्थानमा खानतलासी अभियान तीव्र पारिएको छ ।
सोही क्रममा खानतलासी गर्दा २९ असोजमा गैंडाको अस्थिपञ्जर भेटिएको हो । उनका अनुसार गैंडाका खाग, खुरलगायत अङ्गहरू सुरक्षित रहेका छन् । खाग ठूलो भएकाले भाले गैंडा भएको अनुमान गरिएको छ ।
नयाँ आर्थिक वर्ष शुरु भएयता कालगतिका कारण मृत गैंडा भेटिएको यो तेस्रो हो । वर्षातको समयमा बाटो अवरुद्ध हुने भएकाले निकुञ्जको पहुँच सबै ठाउँमा पुग्न कठिन हुन्छ । वर्षात् सकिएसँगै बाटो बनाउँदै निकुञ्जले संवेदनशील क्षेत्रहरूमा गस्ती गर्ने गर्दछ । रुपाखेतीले अहिले निकुञ्जका ठाउँ–ठाउँमा खानतलासी कार्यलाई तीव्रता दिइएको जानकारी दिए ।
पूरै निकुञ्जलाई खानतलासी गर्ने तयारी निकुञ्ज प्रशासनको रहेको छ । निकुञ्जमा नेपाली सेना, निकुञ्जका कर्मचारी र उपभोक्ताका विभिन्न समितिमार्फत सुरक्षा दिने गरिएको छ । यस निकुञ्ज दुर्लभ एकसिङ्गे गैंडा, पाटेबाघ लगायतका लागि प्रख्यात रहेको छ । यसै आर्थिक वर्षको चैतको पहिलो साता गैंडा गणनासमेत गरिँदैछ ।