अमेरिका प्रवेश गर्न खाेज्ने ३२५ भारतीय मेक्सिकोबाट फर्काइए
अवैध रूपमा अमेरिका प्रवेश गर्न मेक्सिको पुगेका ३२५ जना भारतीय नागरिक शुक्रबार भारतको राजधानी नयाँ दिल्ली फर्काइएको छ ।
मेक्सिकोको बाटो भएर अमेरिका प्रवेश गराइने आश्वासन पाएका भारतीय, बङ्लादेश, श्रीलंकाली, क्यामरुनी र नेपाली नागरिकहरूलाई सीमा क्षेत्रमा रोकिएको तर ३२५ जना भारतीयहरूलाई स्वदेश पठाइएको छ ।
नियमित उडानभन्दा फरक उडानबाट ती यात्रुहरू मेक्सिकोबाट आफ्नै देश फर्किन बाध्य भएका हुन् । अन्तर्राष्ट्रिय एजेन्टहरूको सहयोगमा ती भारतीय नागरिकहरू विगत केही महीनापछि मेक्सिको पुगेका थिए ।
एजेन्टले अमेरिका लैजाने प्रतिबद्धतासहित उनीहरूलाई मेक्सिकोसम्म पुर्याएको र अमेरिका प्रवेश गराउने प्रयास गरिरहेका समय पक्राउ गरी फिर्ता पठाइएको छ ।
मेक्सिको हुँदै अमेरिका जान खोज्ने ती भारतीयलाई मेक्सिकोको राष्ट्रिय अध्यागमन संस्थानले नयाँ दिल्ली फिर्ता पठाएको हो ।
संस्थानले जारी गरेको वक्तव्यमा ती भारतीयहरूलाई मेक्सिकोका विभिन्न राज्यहरूबाट पक्राउ गरिएको थियो ।
मेक्सिकोले सबै प्रवासीहरूलाई सहज प्रवेश दिदैन, आगमनलाई कडाइ गर्दै गइरहेको छ भन्ने सन्देश दिन ती भारतीय नागरिकहरूलाई भारत फिर्ता पठाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फिर्ता गराइएका सबै भारतीय नागरिकसँग आपत्कालीन कागजपत्र थिए । तिनै कागजपत्रका कारण शंका लागेर छानविन गरी फिर्ता पठाइएको अधिकारीहरुले जनाएका छन् ।
भारतीय नागरिकहरू जस्तै गएका बङ्लादेश, श्रीलंका, क्यामरुन र नेपालका नागरिकलाई भने फिर्ता पठाइएको छैन । उनीहरू अहिले पनि त्यही रहेको समाचारमा जनाइएको छ ।