नवनिर्वाचित क्यान, चुनौतीका चाङ
साढे तीन वर्ष लामो संरक्षकविहीन अवस्थालाई क्यान निर्वाचनले चिरेको त छ, तर नयाँ कार्यसमितिको आगामी यात्रा भने सहज छैन।
साढे तीन वर्षदेखि प्रतिबन्ध भोगिरहेको नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को दिशानिर्देश र प्रत्यक्ष संलग्नता थियो । नेपाल सरकार पनि त्यसको साक्षी बस्यो । क्यान निर्वाचनको स्पष्ट अर्थ हो– नेपाली क्रिकेटको अभिभावकविहीन अवस्था अन्त्य भयो ।
निर्वाचनमा अध्यक्ष चतुरबहादुर चन्दको टोलीले ‘क्लिन स्वीप’ गर्याे। चन्द ५९ मा ४४ मत ल्याएर विजयी भए । अब नयाँ कार्यसमितिले क्रिकेट विकासका लागि गर्ने कामप्रति धेरैको चासो छ । यद्यपि आईसीसीले प्रतिबन्ध नहटेसम्म काम नगर्न निर्देशन दिएको छ ।
काम शुरु गर्नासाथ यो समितिले भताभुंग घरेलु क्रिकेट सम्हाल्ने, अन्तर्राष्ट्रिय अविश्वासको वातावरण चिर्ने, जिल्लादेखि अन्तर्राष्ट्रिय प्रतियोगितासम्मको खाका कोर्ने, बजेट व्यवस्थापन गर्ने र आन्तरिक सम्बन्ध सुधार्ने जस्ता चुनौती सामना गर्नुपर्नेछ ।
आईसीसीले नेपाली क्रिकेट माथि कस्तो व्यवहार गर्नेछ भन्ने मुख्य विषय हो । आईसीसी अधिकारीहरूले झट्ट विश्वास गरिनहाल्ने संकेत दिएका छन् । क्यानको आगामी कार्ययोजना, त्यसको कार्यान्वयन र बजेट परिचालनमा उनीहरूको चासो छ ।
आईसीसीले त्यही अनुसार बजेटको गाँठो फुकाउने छ । त्यसैले सक्रिय घरेलु गतिविधि, आर्थिक पारदर्शिता र सुशासनबाट क्यानले आईसीसीको मन जित्नुपर्नेछ ।
यता घरभित्रका चुनौती पनि नयाँ कार्यसमितिका लागि कम छैनन् । मूलपानी क्रिकेट मैदानमा भएको क्यानको कार्यालय लथालिङ्ग छ । घरेलु गतिविधि र संरचना ध्वस्त छ । यो कार्यसमितिले करीब शून्य अवस्थाबाट काम शुरु गर्नुपर्नेछ ।
विभिन्न फर्म्याटका राष्ट्रिय प्रतियोगिताको आयोजना, सातै प्रदेशमा क्रिकेट विकास, उमेर समूह र महिला क्रिकेट व्यवस्थापन, प्रशासनिक सुशासन जस्ता काम तुरुन्तै शुरु गरिहाल्नुपर्नेछ ।
एकदिवसीय मान्यता पाइसकेपछि नेपालले आफ्नै घरमा खेल आयोजना गर्न सकेको छैन । त्यसका लागि कीर्तिपुर मैदानको स्तरोन्नति गर्नुपर्नेछ । मूलपानी मैदानमा प्याराफिट निर्माण पनि चाँडो सक्नुपर्नेछ ।
सीमित भौतिक संरचना र शून्य बजेटबाट काम गर्न क्यान पदाधिकारीले सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग राम्रो सम्बन्ध बनाउनुपर्नेछ । राखेप सदस्यसचिव रमेशकुमार सिलवाल तिनै व्यक्ति हुन्, जो करीब चार वर्षअघि राखेपले निर्वाचित क्यानलाई मान्यता नदिई गठन गरेको तदर्थ समिति अध्यक्ष थिए ।
गत ३ र ४ असोजमा स्वतन्त्र समितिले राखेपलाई जानकारी नदिई साधारणसभाको मिति घोषणा गर्दा पनि उनले हस्तक्षेप गरेका थिए । तर, सदस्यसचिव सिलवालले साधारणसभामा बोल्दै नयाँ कार्यसमितिलाई आवश्यक सहयोग गर्ने वाचा गरिसकेका छन् ।
विगतको तितो सम्बन्ध सुधार गर्ने जिम्मा अब क्यान नेतृत्वको हुनेछ । यद्यपि, अध्यक्ष चन्दले सिलवालसँग आफ्नो सम्बन्ध राम्रो भएको दाबी गरेका छन् । (हे. अन्तर्वार्ता)
वर्तमान राष्ट्रिय टोलीसँग पनि क्यानका निर्वाचित पदाधिकारीको सम्बन्ध सुमधुर छैन । कप्तान पारस खड्का सहितको टोलीले विगतमा सुशासनका विभिन्न प्रश्न उठाउँदा क्यानमा अहिलेका पदाधिकारी नै थिए । विगतका घटनाको इगो नराखी खेलाडीलाई खेल्न सक्ने वातावरण बनाउनुपर्नेछ ।
क्यान निर्वाचनमा लामो समय बिताइसकेका पुराना र चर्चित अनुहार पराजित भएका छन् । पूर्व अध्यक्ष विनयराज पाण्डे, पूर्व कप्तान पवन अग्रवाल, पूर्व प्रशिक्षक जगत टमाटा, प्रफुल्ल वैद्य लगायतसँगको सम्बन्धले पनि क्रिकेट विकासमा अर्थ राख्नेछ ।
चन्दको टोलीलाई जिताउन पर्दा पछाडि भूमिका खेल्ने दिवाकर घले, किरण राणा, ठाकुर प्रताप थापाको भूमिका पनि महत्वपूर्ण हुनेछ । कार्यसमितिमा चन्द सहित बहुमत पदाधिकारी काठमाडौं बाहिरका छन् । उनीहरू मिटिङ भत्ता, हवाई टिकट जस्ता झिना विषयमा अल्झिए क्रिकेट फेरि विवादको भुमरीमा फस्नेछ ।
अहिले प्रायोजक खोज्न क्रिकेट जति सजिलो अर्को खेल छैन । क्रिकेट सरकारको प्राथमिकतामा पनि छ । सबैसँगको समन्वय र सहकार्यले नै क्रिकेट विकास संभव छ तर त्यसको पहल क्यान पदाधिकारीले गर्नुपर्नेछ ।