राजदूतका लागि दाहाल र शेर्पाबाट शपथ ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतद्वय महेशराज दाहाल र दावा फुटी शेर्पाले मंगलबार आआफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन, शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत विशिष्ट व्यक्ति उपस्थित थिए।
यसअघि नेपालको संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा शेर्पालाई स्पेन र दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।