क्यान पदाधिकारीलाई जानकारी छैन पारसको राजीनामा
नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित पदाधिकारीसँग सल्लाह नै नगरी पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका छन् । क्यान अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेलले पारसले कप्तानबाट राजीनामा दिएको आफूहरुलाई जानकारी नभएको बताएका छन् ।
अध्यक्ष चन्दले आफूहरुसँग कुनै सल्लाह नगरी कप्तान पारसले राजीनामा दिएको बताए । “कुनै सल्लाह भएको थिएन, मलाई आधिकारिक जानकारी पनि छैन,” उनले भने, “मैले तपाईंहरुबाटै थाहा पाएँ, राजीनामा गर्ने, कप्तान परिवर्तन हुने वा कायम रहने एउटा प्रक्रिया हो, आश्चर्यको विषय होइन ।” आफूहरुले नयाँ कप्तान नियुक्तबारे सोचिनसकेको उनले बताए ।
महासचिव प्याकुरेलले पनि राजीनामाबारे मिडियाबाट थाहा पाएको बताए । “सोसल मिडियाबाट राजीनामा आयो भन्ने सुनेँ,” उनले भने, “आधिकारिक हो वा होइन जानकारी छैन, आधिकारिक रुपमा राजीनामा आएपछि प्रक्रियामा जाने कुरा हुन्छ ।”
क्यान निर्वाचनपछि पारससँग आफूहरुको भेटघाट नभएको उनले बताए । “उहाँहरु बाहिर गेम खेल्दै हुनुहुन्थ्यो, दशैँपछि टिम स्वदेश फर्कँदा काठमाडौँमा उपलब्ध क्यान प्रतिनिधिबाट स्वागत गरिएको हो,” प्याकुरेलले भने, “दशैँपछि भेटघाट हुने योजना थियो, हिलो बल्ल आईसीसीबाट प्रतिवन्ध फुकुवा भएकाले भेटघाटको मेलो बनिसकेको थिएन ।”
पारसले २७ असोज दिउसो ट्विट गर्दै क्यानको नयाँ कार्यसमितिलाई काम गर्न सजिलो बनाउनका लागि आफूले कप्तानबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
“नेपाली क्रिकेटमाथिको प्रतिवन्ध हटाएको सुखद् क्षणमा नयाँ समितिलाई नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको उन्नतीका लागि काम गर्न शुभकामना छ,” पारसले लेखेका छन्, “मैले नेपाली क्रिकेट टिमको कप्तान पदबाट राजीनामाको निर्णय गरेको छु ।”
पारसले सन् २००४ मा सिनियर टिममा डेब्यू गरेका थिए । उनी सन् २००९ मा कप्तान नियुक्त हुँदा २२ वर्षका थिए । क्यानले विनोद दासको स्थानमा उनलाई कप्तान नियुक्त गरेको थियो । त्यसलगत्तै उनको नेतृत्वमा जितेको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन फाइभ प्रतियोगिता नेपालको त्यसवेलासम्मको ठूलो उपाधि थियो ।
उनकै कप्तानीमा नेपालले २०१३ मा टी२० विश्वकप खेलेको थियो । सन् २०१८ मा एक दिवसीय अन्तराष्ट्रियको मान्यता पाए यता नेपालले उनको नेतृत्वमा ६ खेल खेलेको छ । जसमध्ये तीनमा जित र तिनमा हार भएको छ ।
नेपालले अहिलेसम्म खेलेका २८ टी२० अन्तराष्ट्रियमध्ये २७ वटामा उनैले कप्तानी गरेका थिए । जसमध्ये ११ मा जित र १५ मा हार भएको थियो । एउटा खेलको नतिजा आएको थिएन। उनी नेपाली क्रिकेटका सबैभन्दा सफल कप्तान र खेलाडी हुन् ।