अमेरिकामा सांगीतिक साँझ
अमेरिकाको नार्थ क्यारोलेना राज्यको सार्लट शहरमा दशैंतिहार–२०७६ को अवसरमा शुभकामना आदानप्रदान सहित सांगीतिक साँझ आयोजना गरिएको छ ।
लभ एण्ड सपोर्ट फाउण्डेसनले २६ असोजमा आयोजना गरेको कार्यक्रमका आकर्षण थिए, बुद्धबीर लामा र सत्यकला राई । कार्यक्रममा गायिका राईले ‘आइडी कार्डैले’, ‘आलुदम चाना’, ‘इन्टरनेटैमा’ लगायत गीत गाएकी थिइन् भने गीतकार लामाले मन्तव्य सहित आफु रचित गीतहरु ‘बादलुको घुम्टोले’, ‘चोली राम्रो पाल्पाली ढाकाकोलगायत गीत गाएका थिए ।
गीतकार लामा र गायिका राईलाई नेपाल र भुटानको झण्डा ओढाई अभिनन्दन् गरिएको थियो ।
कार्यक्रममा अमेरिकामा रहेका नेपाली कलाकार बसन्त खडका, भुटानी गायकहरु लिला शिबाकोटी, नारद राई लगायतले पनि सांगितिक प्रस्तुती दिएका थिए ।
नर्थ क्यारोलेनामा नेपाली समुदायसँग नजिक रहेका चिनियाँ मुलका अमेरिकी नागरिक माइकल च्याङ प्रमुख अतिथि थिए भने अष्ट्रेलियाबाट सहभागी भएका वाई पी ढुंगेल विशेष अतिथि थिए ।
कार्यक्रममा पुनर्वास भुटानी समुदायका स्थानीय अगुवाहरु शिब बिष्ट, सञ्जिब दुलाल, हस्त प्रधान लगायतको विशेष सहभागिता थियो ।
यसै अवसरमा लभ एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष तथा भुटानी गायक मनोज राईको म्युजिक भिडियो ‘मुस्कुराउ तिमी’ लोकार्पण गरिएको थियो ।
राई अध्यक्षताको उक्त फाउण्डेसनले हरेक वर्ष नेपाल र अमेरिकामा नेपाली भाषा, संस्कृति, संगीत र समाज सेवामा योगदान पुर्याउने व्यक्तिहरुको सम्मान गर्नका साथै असहायहरुको स्याहारमा संलग्न विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ ।
कार्यक्रम सार्लटको किङ अफ स्पाइसी रेष्टोरेण्टको सभा हलमा भएको थियो । कार्यक्रममा अमेरिकामा पुनर्वास भएका भुटानी, नेपाली र अन्यको सहभागिता थियो ।