टी२० मा ओमानलाई जिताउने सुरज नेपाली मूलका
गत २३ असोजमा नेपालले ओमानविरुद्ध टी२० मा ६४ रन मात्र बनाउन सक्यो। ६५ रनको झिनो लक्ष पछ्याएको ओमान २७ रनमा ४ विकेट गुमाएपछि लड्खडाउन पुग्यो। तर, सुरज कुमारले ३० बलमा अविजित ४२ रन बनाउँदै ओमानलाई जित दिलाए।
यही वर्षदेखि मात्र ओमानको राष्ट्रिय टिमबाट खेलिरहेका विकेटकिपर ब्याट्स्म्यान सुरजकुमार नेपाली मूलका हुन्। उनी चार वर्षअघि त्यहाँ पुगेका थिए। राष्ट्रिय टिमबाट पाँच वटा ओडिआई र चार वटा टी२० अन्तराष्ट्रिय खेलिसकेका छन्। टी२० अन्तराष्ट्रियमा भने उनले नेपाल सम्मिलित पाँच देशबीचको प्रतियोगिताबाटै डेब्यु गरेका हुन्।
सुरजले नेपालको खेललाई पनि पछ्याउने गरेका छन्। नेपालयज टिभीसँगको कुराकानीमा उनले आफूलाई पारस खड्काको ब्याटिङ र सन्दीप लामिछाने तथा सोमपाल कामीको बलिङ राम्रो लाग्ने बताएका छन्। उनले भनेका छन्, “म विशेषगरि पारस दाइ, सोमपाल र सन्दीप लामिछानेलाई फलो गर्छु।”
सन्दीपको बलिङ मन पराउने सुरजले नेपालविरुद्ध पूरा खेलमा हानेको दुई चौका उनीविरुद्धै थियो। उनले सन्दीपको बलमा एक छक्का पनि हाने। अरु दुई छक्का भने करण केसीको बलमा हानेका थिए।
“नेपाली हुनुमा गर्व छ”
जित्नकै लागि खेलिने भएकाले ओमानलाई जिताउँदा खुसी लागेको उनले बताएका छन् । असहज गरी नेपाली बोल्ने उनले नेपालयज टिभीमा दिएको अन्तर्वार्तामा भनेका छन्, “जित र हार आफ्नो ठाउँमा छ, मलाई नेपाली हुनुमा गर्व छ ।”
सुरजको पुर्खौली घर बागलुङ हो । उनका आमा बुबा बागलुङबाट कामका लागि भारत गएका हुन् । उनका बाबु एक रेष्टुरेन्टमा काम गर्थे । सुरज सन् १९८८ मा भारतको पञ्जाबमा जन्मिएका हुन् । उनले भारतमा स्थानीयस्तरको क्रिकेट खेलेका थिए ।
सोमपाल कामीसँग उनको भारतमा नै चिनजान थियो । राष्ट्रिय टिममा परेपछि सोमपालले सुरजलाई पनि नेपाल आउन सुझाव दिएका थिए। तर, उनको ओमानको भिषा लागिसकेको थियो। “मेरो आर्थिक अवस्था कमजोर थियो। ओमानको कम्पनीबाट मासिक तलब पाउने गरी काम गर्ने र क्रिकेट पनि खेल्ने सुविधा भयो, त्यसैले उतै लागेँ,” उनी भन्छन्।
आफ्नो इच्छा नेपालबाट खेल्ने भए पनि नपाएको उनको भनाइ छ । “आफ्नो देशबाट खेल्ने सपना थियो, प्रभुको इच्छा यता खेलाउने रहेछ, जहाँ भए पनि मेरो अन्तराष्ट्रिय क्रिकेट खेल्ने धोको थियो,” उनले भनेका छन्।
यसरी पुगे ओमान
उनको सपना भारतबाटै अन्तराष्ट्रिय क्रिकेट खेल्ने थियो। “मैले धेरै प्रयास गरेँ। तर, त्यहाँ धेरै प्रतिभावान छन् र राजनीति पनि धेरै नै हुन्छ । जति प्रयास गर्दा पनि मौका मिलेन।”
उनका साथी रोहित मल्लिकले ओमान आउन सुझाव दिए। त्यही सुझाव पछ्याउँदै सुरज सन् २०१५ मा ओमान पुगे । उनी भन्छन्, “जहाँ भए पनि क्रिकेट खेल्ने हो। म एक दिन ओमानको अन्तराष्ट्रिय टिममा खेल्छु भन्ने सपना बोकेरै आएको थिएँ।”
तर, विदेशीका लागि ओमानमा तीन वर्ष घरेलु क्रिकेट खेलेपछि मात्र राष्ट्रिय टिमबाट खेल्न योग्य हुन्छन्। उनले काम गर्ने अल तुर्की एनएमसी कम्पनीले क्रिकेट टिम किनेको थियो। त्यसैबाट उनले घरेलु क्रिकेट खेल्न थाले। घरेलु क्रिकेट खेल्न थालेको चार वर्षपछि उनी ओमानको राष्ट्रिय टिममा छनौट हुन सफल भए।
तर, उनले राष्ट्रिय टिमबाट गतिलो प्रदर्शन भने गर्न सकेका छैनन्। मध्यक्रमका ब्याट्स्म्यान सुरजले पाँच ओडिआईमा जम्मा ८७ रन बनाएका छन्। उनको उच्च रन नटआउट ३५ हो।
त्यस्तै चार टी२० अन्तराष्ट्रियमा जम्मा ५८ रन मात्र बनाएका छन्। पछिल्लो खेलमा नेपालसँग बनाएको नटआउट ४२ नै उनको उच्च रन हो।
ओमानमा हरेक दिन क्रिकेट अभ्याससँगै उनले कम्पनीमा काम पनि गर्नुपर्छ। उनी कम्पनीको ‘सेल्स डिपार्टमेन्ट’ मा काम गर्छन्। राष्ट्रिय टिमको खेल हुँदा भने उनले छुट्टी पाउँछन्।
आउँदो साता युएईमा हुने टि २० विश्वकप छनौटमा ओमन पनि प्रतिश्पर्धा गर्दैछ । अहिले निकै राम्रो फर्ममा रहेको ओमान विश्वकपका लागि छनौट हुनेमा उनी विश्वस्त छन्।