प्रदेश १ मा छिट्टै प्रहरी ऐन
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रहरी ऐन छिट्टै निर्माण गरेर प्रदेशमा नमूना प्रहरी बनाइने बताएका छन् ।
नेपाल प्रहरीको ६४ औं स्थापना दिवसका अवसरमा शुक्रबार प्रदेश प्रहरी कार्यालयले विराटनगरमा गरेको कार्यक्रममा मुख्यमन्त्री राईले सुरक्षाको अनुभूति दिलाएर प्रदेशमा लगानीको वातावरण बनाइने बताए ।
“सुरक्षाको अनुभूति नभई विकास हुँदैन” उनले भने, “प्रदेशले तीव्र गतिमा विकासको लक्ष्य लिएको छ ।” मुख्यमन्त्री राईले प्रदेश १ मा लगानी सम्मेलन गर्ने तयारी भएको पनि जानकारी दिए ।
स्वदेशी र विदेशी लगानीकर्तालाई सम्मेलनमा आमन्त्रण गरिने बताउँदै उनले कृषि, जलस्रोत, उद्योगमा लगानी गरिने बताए । देशमा ढुक्कले समृद्धि र शान्ति पस्कने बेला आएको बताउँदै उनले देश र जनताप्रति जवाफदेही र उत्तरदायी भएर लाग्न प्रदेशवासीलाई आग्रह गरे ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले विश्वभरमा बढेको संचार सुविधासँगै अपराधको चुनौती पनि बढेको बताए । नयाँनयाँ अपराधका चुनौतीसँग सामना गर्ने प्रहरी तयार गर्नुपर्ने उनको भनाइ छ ।
“नयाँ खाले अपराधका घटनासँग सामना गर्न संख्या बढाउने हैन प्रहरीलाई दक्ष बनाउनु पर्छ”, मन्त्री कार्कीले भने ।
तीन प्रहरीलाई पराक्रम पुरस्कार
नेपाल प्रहरीको स्थापना दिवसका अवसरमा प्रदेश १ का तीनजना प्रहरी जवानलाई साधनादेवी प्रहरी पराक्रम पुरस्कार दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत जवान खेमनाथ भट्टराईलाई रु ५० हजार, भोजपुरमै कार्यरत जवान सुरेन्द्र माझीलाई रु २५ हजार र जिल्ला प्रहरी इलाममा कार्यरत जवान मुकुन्द माझीलाई रु २५ हजार नगद पुरस्कार दिइएको छ ।
भोजपुर सदरमुकाममा विप्लव समूहका कार्यकर्तासँग दोहोरो गोली हानाहानमा एक प्रहरी हवल्दार र समूहका एक नेताको ज्यान गएको थियो । सो घटनामा बहादुरीका साथ लड्ने भट्टराई र माझी पुरस्कृत भएका हुन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत प्राडा विक्रमप्रसाद श्रेष्ठले उनकी आमाको नाममा स्थापना गरेको सो प्रहरी पराक्रम पुरस्कारको राशि रु १ लाख रहेको छ ।
पुरस्कारको राशि हरेक वर्ष रु १० हजारले बढाउँदै लैजाने श्रेष्ठ परिवारले जनाएको छ । कार्यक्रममा अमर प्रहरीका परिवारलाई सम्मान गरिएको थियो । बढी अंक ल्याएर एसईई उत्तीर्ण हुने प्रदेशभित्र कार्यरत र पूर्व प्रहरीका छोराछोरीलाई रु १० हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।