सीको आगमन ऐतिहासिक अवसरः गच्छदार
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण देशका लागि ऐतिहासिक सुखद अवसर भएको बताएका छन्।
शुक्रबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै नेता गच्छदारले सरकारले यो अवसरको सदुपयोग गर्न सक्नु पर्ने बताए ।
सीको स्वागतका लागि सरकारले राम्रो तयारी गर्नेमा आफू विश्वस्त रहेको बताउँदै उनले नेपाली कांग्रेसले पनि सीको भ्रमणलाई सकारात्मक रूपमा लिएको स्पष्ट पारे ।
“२३ वर्षपछि चीनका राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ सरकारले छिमेकी देशसँगको सम्बन्ध अझ प्रगाढ बनाउन सक्नुपर्छ”, उनले भने, “संसारकै शक्तिशाली छिमेकी देश चीन र भारतबाट हामीले फाइदा लिन सक्नुपर्छ ।”
धार्मिक, ऐतिहासिक, सांस्कृतिक रूपमा चीनसँग नेपालको सम्बन्ध रहेको बताउँदै गच्छदारले केरुङ–काठमाडौं रेलमार्ग बन्नेमा आशा व्यक्त गरे ।
आफू यातायात मन्त्री भएका बेला २०७२ सालमा केरुङ–काठमाडौं द्रुतमार्ग सम्भाव्यता बारे दुई देशबीच छलफल भएको जानकारी दिंदै उनले राष्ट्रपति सीको भ्रमणले त्यसले पूर्णता पाउने बताए ।
सी विचारका बारे चलिरहेको बहसका बारेमा नेता गच्छदारले यसलाई छलफलमा ल्याउनु जरुरी नभएको बताए । “सी विचार र चिन्तनले नेपाल अघि बढ्नु पर्छ भन्ने छैन, नेपाली जनता आफै बुझ्ने छन्”, उनले भने ।
राजनीतिक स्वतन्त्रता भएको देशमा कसैको पनि विचारबाट नेपाली प्रभावित नहुने उनको तर्क छ । सुखी नेपाली समृद्ध नेपाल भन्ने वर्तमान सरकारको नारा सफल होस् भन्ने पनि नेता गच्छदारले शुभकामना दिए ।
यस वर्षको दशैंले नेपाली कांग्रेसका नेता कार्यकर्तामा सद्बुद्धि पलाओस् भन्ने कामना गर्दै गच्छदारले पार्टी एकताको विकल्प नभएको बताए ।