उपनिर्वाचनमा ५३७ मतदान केन्द्र, मतदातामा महिला बढी
आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण गरेको छ ।
प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिका वडाध्यक्ष ४३ गरी कूल ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।
आयोगले बढीमा एक हजार एक सय मतदानका लागि एक मतदान केन्द्र रहनेगरी मतदान केन्द्र निर्धारण गरेको हो ।
आयोगद्वारा जारी विज्ञप्तिका अनुसार आठ सय वा सोभन्दा बढी मतदाता रहेका मतदान केन्द्र ३३७ रहेका र आठ सयभन्दा कम मतदाता रहेका केन्द्र २०० वटा छन् ।
आयोगले असोज २३ गते उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावलीसमेत स्वीकृत गरेको थियो ।
मतदाता महिला बढी
उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा कूल मतदाता चार लाख ५४ हजार ११४ रहेको छन् ।
तीमध्ये महिला मतदाता दुई लाख ३३ हजार ४०२, पुरुष मतदाता दुई लाख २० हजार ७१० र अन्य लिङ्गी मतदाता दुई जना रहेका छन् ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ मा ७१ हजार ८७१, प्रदेशसभा सदस्यको निर्वाचन हुने भक्तपुर, बाग्लुङ र दाङका सम्बन्धित निर्वाचन क्षेत्रमा क्रमशः ४५ हजार १५, छत्तीस हजार ९२६ र त्रिहत्तर हजार १७२ जना मतदाता रहेका छन् ।
मतदाता नामावलीसम्बन्धी विवरण निर्वाचन आयोगको वेबसाइटमा समेत हेर्न सकिने आयोगले जनाएको छ ।