एमबीबीएस प्रवेश परीक्षा आठ लाखमा पास !
नोबेल मेडिकल कलेजले नेपाली विद्यार्थीसँग रु.५ लाख र भारतीयसँग रु.८ लाख लिएर काठमाडौं विश्वविद्यालय (केयू) को चिकित्साशास्त्रतर्फको प्रवेश परीक्षा पास गराएको खुलेको छ ।
विराटनगरको नोबेल मेडिकल कलेजका एजेन्ट निरञ्जन कुमारले केयूको एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षामा बसेका ३५ जना विद्यार्थीलाई ‘लिक’ गरिएको प्रश्नपत्र हेरेर ९८१९३९११६१ नम्बरको मोबाइलबाट ह्वाट्स एपमार्फत उत्तर पठाए । विद्यार्थीलाई मोबाइल फोनसहित परीक्षा हलमा पठाइएको थियो ।
नोबेलमा सेन्टर तोकिएको ३० मंसीरको प्रवेश परीक्षामा विराट मेडिकल कलेजका पनि ४२ विद्यार्थी सहभागी थिए । एमबीबीएस र बीडीएसको लागि १७ असोजमा केयूले लिएको प्रवेश परीक्षामा फेल भएका विद्यार्थीहरु सामेल दोस्रो परीक्षामा पास गराउने ग्यारेन्टी लिएका कुमारले पैसा बुझ्ेका नोबेलका विद्यार्थीलाई उत्तर पठाएका थिए ।
यी हुन् निरञ्जन कुमार
आफूलाई नोबेल मेडिकल कलेजको अन्तर्राष्ट्रिय निर्देशकको रुपमा चिनाउने भारतीय नागरिक निरञ्जन कुमार मेडिकल शिक्षाका विद्यार्थीलाई चिट चोराउनदेखि प्रश्नपत्र लिक गराउनेसम्मको काममा संलग्न छन् ।
सुनौली नाकाबाट २५ किलोमिटर दक्षिणका उनी भारतीय जनता पार्टी (बिजेपी) का सक्रिय कार्यकर्ता रहँदा ज्यान मुद्दा लागेपछि आठ वर्षअघि भागेर विराटनगर आएका हुन् । पहिले विराट मेडिकल कलेजमा काम गरेका कुमार भारतबाट खडेबाबा (नक्कली फ्याकल्टी) ल्याउने काम गर्छन् । भारतीय नम्बर प्लेटको गाडीमा हिंडने उनले अहिले विराटनगरमा घर किनेका छन् ।
निरञ्जनले प्रति नेपाली विद्यार्थीबाट रु ५ लाख र भारतीयबाट भारु ५ लाख (रु ८ लाख) बुझेका थिए । नभन्दै, ‘टप फाइभ’ नभन्दै, ‘टप फाइभ’ सहित नोबेलका अधिकांश विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गरे । ३०२ विदेशीसहित १ हजार १७३ विद्यार्थीका लागि केयूले तोकेको तीन वटा परीक्षा केन्द्रमध्येको एक नोबेलमा ११५ विद्यार्थी सहभागी थिए । परीक्षामा सहभागी कुल १ हजार १७३ मध्ये ४९० जना पास भए । ४९ जना अनुपस्थित थिए ।
अनि पोल खुल्यो
निरञ्जन कुमारले ९८१९३९११६१ नम्बरबाट नोबेलका लागि पुनेका समिर झामार्फत भारतीय विद्यार्थी ल्याएका दिनेश शाहलाई समेत उत्तर पठाएका थिए ।
उत्तर हलभित्र बसेका विद्यार्थी र बाहिरका शाहले दिउँसो साढे दुईबजे एकै समयमा पाएका थिए, जुन भारतीय एजेन्ट झाले मात्र पाएनन् । त्यस विषयमा कुमारसँग चर्काचर्की गरेका झाले मिडियामा कुरा चुहाइदिए ।
केयूका तर्फबाट निरीक्षण गरेका डा. दिल स्लाम मन्सुर र युवराज राना मगरले परीक्षार्थीलाई चिट चोर्न सहज वातावरण बनाइदिएका थिए ।
१ पुसमा विभिन्न सञ्चारमाध्यमबाट भारतीय एजेन्टहरूको संलग्नतामा ह्वाट्स एपमार्फत प्रश्नपत्र लिक भएको सार्वजनिक भएपछि केयूको डीन कार्यालयले आफैं छानबीन नगरी ३ पुसमा काभ्रे प्रहरीलाई पत्र पठायो ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा यसलाई केयूको गैर–जिम्मेवारी ठान्छन् । उता काभ्रे जिल्ला प्रहरी प्रमुख उपरीक्षक सहकुल थापा भन्छन्, “यो साइबर क्राइम सम्बन्धी विषय भएकाले प्रहरी प्रधान कार्यालयलाई लेखिपठाएका छौं ।”
-------------------------------------------------------------------------------------------------------------
फरार शर्मा छलफल कार्यक्रममा
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) को ‘अपरेसन क्वाक’ को सूचीमा रहेका नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा गत १८ मंसीरमा नेपाल चिकित्सक संघले आयोजना गरेको कार्यक्रममा देखिए । (हे. तस्वीर रातो घेराभित्र)
उनले विहार इन्टरमिडियट बोर्डबाट ‘प्लस टु’ गरेको नक्कली शैक्षिक प्रमाणपत्र देखाएर एमबीबीएस गरेको पत्ता लागेपछि सीआईबीले ‘क्वाक’ को सूचीमा राखेर गत ३ असारमा पक्राउ गर्ने तयारी गरेको थियो । त्यो सुईंको पाएपछि शर्मा जापान भागेका थिए ।
नेपाल मेडिकल काउन्सिल स्रोतका अनुसार, शर्माले चीनबाट लिएको एमबीबीएसको प्रमाणपत्र नक्कली नै हो ।
चिकित्सक संघले डा. गोविन्द केसीको सत्याग्रहबारे छलफल गर्न १८ मंसीरमा निजी मेडिकल कलेज सञ्चालकहरूलाई बोलाएको थियो । त्यहाँ उपस्थित शर्माले संघका पूर्व अध्यक्ष डा. अञ्जनीकुमार झा, वर्तमान अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ, प्रसूतिगृह थापाथलीका तत्कालीन निर्देशक डा. जागेश्वर गौतम, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक डा. दीपक महरालगायतसँग विवाद गरे ।
डा. केसीको चर्को विरोध गरिरहेका उनी छलफलमा उपस्थित रेजिडेन्ट डाक्टरहरूसँग अभद्र ढंगले प्रस्तुत भएका थिए ।