सङ्कटमा हङ्कङ टिम, परीक्षणमा नेपाल
सिंगापुरमा त्रिकोणात्मक सिरिज खेलेर पाँच देशबीचको प्रतियोगिता खेल्न ओमान पुगेको नेपाल आज हङ्कङको सामना गर्दैछ । नेपाली समय अनुसार दिउसो ३ः४५ बजे खेल सुरु हुनुअघि नेपालका कप्तान पारस खड्का र हङ्कङका कप्तान ऐजाज खान टसका लागि मैदान आउँदा एक अर्कासँग परिचयको जरुरी हुने छैन ।
तर, ऐजाजले खेल्ने नखेल्ने निश्चित छैन । उनी अन्तिम ११ मा नपरे अर्का खेलाडी किञ्चित शाहले कप्तानी गर्नेछन् । उनी पनि खड्काका लागि परिचित अनुहार नै हुन् ।
दुवै कप्तानका लागि विपक्षी टिमका अधिकांश खेलाडी भने नयाँ हुनेछन् । नेपाल युवा टोलीसहित ओमान पुगेको छ । हङ्कङका क्रिकेटरको विद्रोहपछि टिममा अधिकांश नयाँ अनुहार छन् ।
नेपाल र हङ्कङले पछिल्लोपटक सन् २०१५ मा उत्तरी आयरल्याण्डमा भएको टी २० विश्वकप छनौटमा प्रतिश्पर्धा गरेका थिए । चार वर्षमा दुवै टिममा धेरै परिवर्तन आइसकेको छ ।
संकटमा हङ्कङ टिम
अन्तिम प्रतिश्पर्धामा नेपालविरुद्ध ५ विकेटले विजयी भएको हुँदा हङ्कङको कप्तानी तनबिर अफ्जलले गरेका थिए । यसपटक उनी टिममा छैनन् । त्यतिवेलाका इर्फान अहमद, अंशुमान रथ, बाबर हायात, जेमी एट्किन्सन, नदीम अहमद, मार्क च्यापम्यान लगायत चर्चित खेलाडी पनि छैनन् ।
युवालाई मौका दिन भन्दै ओमान भ्रमणमा जाने टिमबाट छनौटकर्ताले पाकिस्तानमा जन्मिएका पूर्वकप्तान तनबिरलाई बाहिर राखेपछि हङ्कङ टोलीमा विद्रोह भएको थियो । सो विवादमा तनबिरको साथ दिँदै पूर्वकप्तान बाबर हायातले पनि नाम फिर्ता लिए ।
बाबरसँगै हङ्कङका मुख्य बलर एहसान नवाज र उनका भाइ तनबिर अहमदले पनि नाम फिर्ता लिए । हङ्कङ टिमबाट विद्रोह गर्ने चारै जना पाकिस्तानको पञ्जाब प्रान्तमा जन्मिएका हुन् ।
कप्तान तनबिरले त पाकिस्तानको १९ वर्षमुनिको राष्ट्रिय टिमबाट पनि खेलिसकेका छन् । हङ्कङ क्रिकेट बोर्डले बाबरबाहेक तीन खेलाडीको करार तत्कालै रद्द गरिसकेको छ । बाबरसँग भने करार सम्झौता थिएन ।
पूर्वकप्तान तनबीर टिमबाट निस्कासित भएको अघिल्लो दिन मात्र कप्तान अंशुमान रथले अब उप्रान्त हङ्कङबाट क्रिकेट नखेल्ने घोषणा गरेका थिए । गत अप्रिलमा मात्र कप्तान नियुक्त भएका अंशुमान रथले पाँच महिनापछि नै हङ्कङ छाड्ने निर्णय गरे ।
उनी आफ्ना बुवाको जन्म देश भारत फर्किएका छन् । ओडिशा फर्किएका उनले अब भारतको राष्ट्रिय टिमबाट खेल्न प्रयास गर्ने बताइएको छ ।
अंशुमान र बाबरको नेपाल सम्बन्ध निकै राम्रो थियो । उनीहरु दुवैले एभरेष्ट प्रिमियर लिग (इपिएल) र धनगढी प्रिमियर लिग (डिपिएल) खेलिसकेका थिए ।
हङ्कङ छाड्ने अंशुमान पहिला क्रिकेटर भने होइनन् । यसअघि नेपालीविरुद्ध अन्तिम टि२० मा खेलेका मार्क च्यापम्यानले पनि हङ्कङ छाडेर न्युजिल्याण्ड गएका थिए । उनले १० मार्च २०१८ मा न्युजिल्याण्डबाट एक दिवसीय अन्तराष्ट्रिय (ओडिआइ) पनि खेलिसकेका छन् ।
पूर्वकप्तान जेमी एट्किन्सनलाई ओडिआइ टिममा राखिए पनि टि २० टिममा राखिएको छैन । चर्चित खेलाडी इर्फान अहमद र नदीम अहमद भने म्याच फिक्सिङमा दोषि पाइएपछि आजिवन प्रतिबन्धमा छन् ।
हङ्कङको भरोसा
यो प्रतियोगितामा हङ्कङले पहिलो खेल खेलिसकेको छ । १८ असोजमा खेलेको पहिलो खेलमा ओमानसँग टस हारेर ब्याटिङ गरेको हङ्कङले ९६ रन मात्र बनाउन सक्यो ।
उसका ६ खेलाडीले त हिजोको खेलबाट मात्र टि २० मा डेब्यु गरे । सबैभन्दा बढी १९ रन बनाउने हारुन अर्सादले २३ बल खेले ।
हङ्कङलाई पुराना खेलाडी ऐजाज खान, एहसान खान, निजक्कत खान, किञ्चित शाह र वकास बर्कातसँग भरोसा छ । तर, पहिलो खेलमा यी कुनै पनि खेलाडी जम्न सकेनन् ।
बलिङमा पनि हङ्कङले कमाल गर्न सकेन । ओमानले ३ विकेट क्षतिमा ९७ रन बनाएको थियो । जसमध्ये एक जना रन आउट भएका थिए ।
परीक्षणमा नेपाल
नेपाली टोलीमा पनि चार वर्षका अन्तरालमा धेरै परिवर्तन आइसकेको छ । यसपटक युवा टोली लिएर गएको नेपाली टोलीमा नियमित उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मीजस्ता भेट्रान खेलाडी छैनन् ।
हङ्कङसँग अन्तिमपटक टि२० खेलेका यीबाहेक अरु ६ खेलाडी परवर्तन भइसकेका छन् । त्यतिवेला सागर पुन र सुवास खकुरेलले ओपनिङ गरेका थिए । राजेश पुलामी, प्रदीप ऐरी, शक्ति गौचन र जितेन्द्र मुखिया पनि टिममा थिए ।
यसपटक युवा खेलाडीको परीक्षण गरेको नेपाल सिंगापुरको त्रिकोणात्मक सिरिजमा असफल भएको छ । सो प्रतियोगितामा डेब्यु गरेका ओपनर इशान पाण्डेले दुई खेलमा मौका पाउँदा कुनै कमाल देखाउन सकेनन् ।
तेस्रो नम्बरमा परीक्षण गरिएका आरिफ सेख क्रिजमा टिके पनि उनको रन बनाउने गति निकै सुस्त छ । विनोद भण्डारी पनि लामो समयदेखि टि २० मा अपेक्षाकृत आक्रामक खेल्न सकेका छैनन् । पवन सर्राफ ब्याटिङ र बलिङ दुवैमा चल्न सकेका छैनन् ।
नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा र कुशल मल्ल आशलाग्दा युवा क्रिकेटर हुन् । दीपेन्द्रले एउटा एन्ड सम्हालेर रनलाई विस्तारै उकास्ने क्षमता राख्छन् ।
सन्दीप र कुशल टि २० को आवश्यकता अनुसार ब्याटिङ गर्न सक्छन् । तर, अहिले पनि नेपाली क्रिकेटको भरोसा भने कप्तान पारस खड्का नै हुन् ।