त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दक्षिण एशियाकै महँगो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन मात्र होइन ग्राउण्ड ह्याण्डलिङ, ल्याण्डिङ र पार्किङको मूल्य पनि दक्षिण एशियाका अन्य विमानस्थल भन्दा महँगो छ।
एशियाका अन्य गन्तव्यको तुलनामा काठमाडौंको हवाई भाडा महँगो छ, किन ? यस्तो भएपछि धेरै युरोपियन वायुसेवा कम्पनीहरूले कसरी काठमाडौंमा उडान गर्न सक्छन् ? नेपालबाट अष्ट्रेलियासम्मको सीधा उडान किन छैन ?
जवाफः काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन र सेवा शुल्क महँगो छ, यसैले विदेशी वायुसेवा कम्पनीलाई नेपालमा उडान भर्न र उडान थप गर्न रोकिरहेको छ ।
वाईड बडी विमानबाट लामो रुटमा उडान गर्ने विदेशी वायुसेवा कम्पनी महँगो इन्धन मूल्यबाट नराम्ररी प्रभावित भएका छन् । कोरियन एअरलाइन्स, चाइना साउदर्न, टर्किस एअरलाइन्स, कतार एअरलाइन्स, नेपाल एअरलाइन्सले लामो रुटमा उडान गर्न वाईड बडी विमान प्रयोग गर्दै आएका छन् । विमानस्थलमा हुने ट्राफिक जामले कहिलेकाहीं घण्टौं विमानहरू आकाशमा चक्कर लगाउन बाध्य हुन्छन् । त्यो लागत पनि यात्रुको टिकटमा जोडिन्छ ।
हिमाल ले गरेको अध्ययनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा असोजको दोस्रो साता एक किलोलिटर हवाई इन्धनको मूल्य ९५० अमेरिकी डलर छ । जुन दिल्ली र बैंकक् (५२५ अमेरिकी डलर) को तुलनामा करीब दोब्बर र बेइजिङ (७५० अमेरिकी डलर) को तुलनामा बढी हो । (हे. चार्ट)
एअरबस ३३० वाइड बडी विमान मार्फत दैनिक इस्तानबुल–काठमाडौं उडान गरिरहेको टर्किस एअरलाइन्सका नेपाल प्रमुख अब्दुल्हा टनसर केसीसी भन्छन्, “इन्धनको मूल्य नै वायुसेवा कम्पनीको मुख्य खर्च हो; र गन्तव्यमा रहेको इन्धनको मूल्यका आधारमा कुनै पनि रुटको सम्भाव्यता तय हुने गर्छ ।”
अब्दुल्हा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आफ्नो विमान सेवाले बनाएको दैनिक उडान गर्ने योजना कार्यान्वयन हुने÷नहुनेमा हवाई इन्धनको मूल्यले महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् ।
लामो दूरीको उडानपछि वाईड बडी विमानले आफ्नो गन्तव्यमा फिर्ता हुन काठमाडौंमा कम्तीमा ४० टन इन्धन भर्नुपर्छ । एअरबस ३३० उडाउने कतार, क्याथे ड्रागन, टर्किस, चाइना साउदर्न र बोइङ ७७७ उडाउने कोरियन एअरले काठमाडौंबाट फिर्ता हुँदा इन्धन भर्नुपर्छ । बोइङ ७७७ उडाउने थाई एअरलाइन्स सञ्चित इन्धन समाप्त भएको अवस्थामा बाहेक काठमाडौंमा इन्धन भर्दैन ।
नेपाल वायुसेवा निगमले पनि काठमाडौं अवतरण गर्दा प्रायः विदेशमै अधिकतम इन्धन भरेर आएको हुन्छ । विदेश उडान गर्दा काठमाडौंमा कमै मात्र इन्धन राख्ने गर्छ ।
नेपालमा उडान गर्ने वायुसेवा कम्पनीका प्रतिनिधिको आग्रहपछि ‘संस्कृति पर्यटन तथा नागरिक उड्डयन’ मन्त्री योगेश भट्टराईले इन्धनको मूल्य बढी भएको विषयलाई गम्भीर रूपमा लिएको र यसको समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
इन्धनको मूल्य बढी भएको भनेर चौतर्फी आलोचना भएपछि नेपाल आयल निगमले गत साता विदेशी वायुसेवाको इन्धन मूल्य प्रतिकिलोटिर १०५० अमेरिकी डलरबाट १००० डलर कायम गरेको थियाे । तर, वायुसेवा कम्पनीका अधिकारीहरूसँगले घटाएको इन्धनको मूल्य समेत पर्याप्त नभएको बताएपछि पुनः ५० डलर घटाइएको हो ।
“आन्तरिक उडानमा हामीले भारत भन्दा रु.१५.४७ सस्तो हवाई इन्धन दिएका छौं” नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइत भन्छन्, “निगमले ग्यास बिक्री गर्दा हुने नोक्सानी कम गर्न हवाई इन्धनको मूल्य बढी राखिएको हो ।”
भारतमा पाइने मूल्यमै नेपालमा हवाई इन्धन बिक्री गर्दा नेपाल आउने वायुसेवा कम्पनीले धेरै इन्धन भर्ने हुँदा त्यसरी भर्न पुग्ने गरी इन्धन भण्डारण क्षमता निगमको नभएको उनको भनाइ छ । २०७२ सालभन्दा अगाडि काठमाडौंमा हवाई इन्धनको मूल्य प्रतिकिलोटिर १८०० अमेरिकी डलरसम्म पुगेको थियो ।
विश्वमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटसँगै २०७३ सालमा एक किलोलिटर हवाई इन्धनको मूल्य ७५० डलरसम्म पुगेको थियो । त्यसयता लगातार वृद्धि भएको हवाई इन्धनको मूल्य गत वर्ष साउनमा एक किलोलिटरको ११२० अमेरिकी डलर पुग्यो । (हे. इन्फो)
उड्डयन क्षेत्रका जानकारहरू महँगो हवाई इन्धनकै कारण विदेशी वायुसेवा कम्पनी नेपालमा उडान थप गर्न निरुत्साहित भएको बताउँछन् । इन्धन महँगो हुँदा नेपालको अर्थतन्त्रले लिन सक्ने लाभ पाउन नसकेको, पर्यटन प्रवद्र्धन नभएको, विदेशमा रहेका नेपाली कामदारले सस्तोमा टिकट नपाएको, हवाई कार्गोको प्रतिस्पर्धी मूल्य बनाउन पनि रोकेको छ ।
“नेपालमा हवाई टिकटको मूल्य सस्तो भए अझ्ै बढी पर्यटक आउन सक्छन् । हवाई इन्धनको मूल्य र विमानस्थलको शुल्क बढी लिनु नेपालको हितमा छैन”, एक विदेशी वायुसेवा कम्पनीका प्रतिनिधि भन्छन् ।
काठमाडौं विमानस्थलमा हवाई इन्धनको मूल्य बाहेक ग्राउण्ड ह्याण्डलिङ, ल्याण्डिङ र पार्किङको मूल्य पनि दक्षिण एशियाका अन्य विमानस्थल भन्दा महँगो छ । २९० यात्रु बोक्ने वाईड बडी विमानले काठमाडौंमा ग्राउण्ड ह्याण्डलिङ ६००० अमेरिकी डलर तिर्ने गर्छन् । जुन दिल्ली र बैंकक्को तुलनामा तीन गुणा बढी हो । यस्तै काठमाडौं विमानस्थलमा वाईड बडी विमानको ल्याण्डिङ र पार्किङको शुल्क २८०० अमेरिकी डलर रहेको छ । जुन दक्षिण एशियाली विमानस्थलको तुलनामा २५ प्रतिशत बढी हो ।
“हामीले उडान गर्ने विमानस्थलमध्ये काठमाडौंको शुल्क सबैभन्दा बढी छ तर त्यसको बदलामा हामीले कमजोर र खराब सुविधा पाउँछौं । यस्तै यहाँको पूर्वाधार पनि निकै कमजोर छ”, नेपालमा उडान गर्ने एक विदेशी वायुसेवा कम्पनीका अधिकारी नाम उल्लेख नगर्ने शर्तमा भन्छन् ।
उनी भन्छन्, “विमानस्थलमा रहेका बसको अटोमेटिक ढोकाले काम गर्दैनन्, अनावश्यक भीडभाड छ । यसको विषयमा पटक पटक व्यवस्थापनलाई जानकारी गराएका छौं, तर सुनुवाइ हुँदैन ।”
नेपाल उडान गर्ने भारतको एक वायुसेवा कम्पनीका अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई न्यूनतम सुविधा पनि नभएको आरोप लगाउँछन् । “यहाँको पूर्वाधार र व्यवस्थापन हेर्दा विमानस्थल जस्तो लाग्दैन” नाम उल्लेख नगर्ने शर्तमा हिमाल सँग उनले भने, “तर, यहाँ विमानहरू आउँछन् जसले गर्दा विमानस्थल भन्न कर लाग्छ ।”
विदेशी वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ सेवा दिंदै आइरहेको नेपाल वायुसेवा निगमका डेपुटी प्रबन्ध निर्देशक गणेशबहादुर चन्द जापान र नेपालमा वाइड बडीको शुल्क समान भएको बताउँछन् । “हाम्रोमा न्यारोबडी विमानको शुल्क केही बढी छ । भारतमा एक करोडमा पाइने बसलाई हामीले पाँच करोडमा खरीद गरेका छौं जसले गर्दा हाम्रो शुल्क बढी छ ।”
सरकारले विमानस्थलभित्र प्रयोग हुने सामानमा भन्सार नलिने हो भने अन्य देश बराबरको शुल्कमा सेवा दिन निगम तयार रहेको उनी बताउँछन् । भारत लगायतका दक्षिण एशियाली देशमा विमानस्थलभित्र प्रयोग हुने उपकरणमा सरकारले भन्सार शुल्क नलिने चन्द बताउँछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारी विमानस्थलमा रहेको ल्याण्डिङ, पार्किङ र नेभिगेसन शुल्क १० वर्षदेखि परिवर्तन नगरिएको बताउँछन् । उनी भन्छन्, “पिक आवरमा शुल्क घटाउने भन्दा पनि बढाउने योजना छ तर राति वा विमानस्थलमा कम चाप हुने समयमा उडान गर्ने वायुसेवा कम्पनीलाई कसरी छुट दिन सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौं ।”
निष्कर्षः खाना पकाउने ग्याँसमा अनुदान दिन हवाई इन्धनमा उच्च नाफा लिंदा र सरकारले विमानस्थलमा प्रयोग हुने उपकरणमा पनि कर लगाउँदा काठमाडौं विमानस्थलको सञ्चालन खर्च निकै महँगो छ । – नेपाली टाइम्स बाट