प्रविधिले फेरेका चाडपर्व
प्रविधिको प्रयोगले चाडपर्व मनाउने तरिका जसरी व्यापक भएको छ, त्यसरी नै हामीलाई प्रविधिले नियन्त्रण गर्ने खतरा पनि बढेको छ।
चाडपर्व उत्साह र उमङ्गको पर्याय हो । हिन्दू धर्मग्रन्थ पुराणहरूमा भनिए जस्तै विजयोत्सवको रुपमा शुरु गरिएका धेरै चाडपर्व अहिले पनि उल्लासपूर्वक मनाइन्छ । फरक यति हो, पहिला प्रविधिको विकास थिएन, अहिले प्रविधिको प्रयोगले मनाउने शैली फेरिएको छ । दशैं–तिहारमा घर जान नसक्नेहरू विभिन्न प्रविधिको माध्यमले आफन्तसँग जोडिन्छन् ।
चाडपर्व मनाउने शैली फेर्ने पहिलो प्रविधि हो, स्मार्टफोन । हाम्रा धेरै चाहना एउटै स्मार्टफोनमा अटाएका छन् । अझ इन्टरनेट जोडिएपछि त्यसको उपयोगिता कैयौं गुणा बढेको छ । विदेश बसेकाहरूले घरमा रहेका आफन्तलाई स्मार्टफोनबाट ‘भर्चुअल’ सयर गराउँछन् । आफन्तहरूले चाडपर्वका बेला स्मार्टफोनबाटै विदेशमा भएका सन्ततिलाई ‘भर्चुअल’ टीका लगाइदिन्छन् । खुशियालीका तस्वीर र भिडियो आदानप्रदान गर्छन् ।
विश्वको कुनाकुनामा कसले कसरी दशैं मनायो सामाजिक सञ्जालमा हेर्न पाइन्छ । सूचनाहरू पठाउन र पाउन च्याट गर्ने, फेसबूक या अन्य कुनै सामाजिक सञ्जालमा लाइभ गर्ने लगायत विशेषता थपिएपछि चाडपर्व थप रोमाञ्चक भए । आफन्तलाई सामाजिक सञ्जाल मार्फत नै शुभकामना या निमन्त्रणा पठाउन सकिन्छ, जुन पहिले भौतिक रुपमा उपस्थित नभई संभव थिएन । इन्टरनेटकै माध्यमबाट अरुको संस्कृति र चाडपर्व मनाउने तरिकाबारे थाहा पाउन सक्छौं ।
विधिपूर्वक पूजा गर्न नजानेकाहरूले यूट्युब लगायत अन्य सामाजिक सञ्जाल हेरेर उपयुक्त विधि अँगाल्न सक्छन् । सामाजिक सञ्जालहरू मार्फत लाइभ भिडियो च्याट गरेर एक ठाउँबाट अर्को ठाउँमा पूजाविधि सम्पन्न गराउन सकिन्छ । जसले हाम्रा अनेकन् संस्कारहरू पनि विश्वव्यापी बन्न पुगेका छन् । पहिला असम्भव रहेका यस्तै धेरै काम सहज गराउने स्मार्टफोन अहिले दैनिक जीवनमा अपरिहार्य बनिसकेको छ ।
उहिलेदेखि नै दशैंको किनमेलमा लत्ताकपडा र खानेकुरा धेरै हुन्छन् । बजारमा स्वयम् उपस्थित भएर किन्नुपर्थ्याे । अहिले मोबाइल या कम्प्युटर मार्फत आदेश दिएपछि सामान घरैमा आइपुग्छ । बजारमा पाइने ग्याजेटहरूले दशैं–तिहार लगायत चाडपर्वका किनमेल सजिलो मात्र बनाएनन् कि छनोटको मौका पनि दिएका छन् । खानेकुरा, लुगाकपडा, रङरोगन परम्परागत तरिकाले बनाउनुपर्दैन । आधुनिक मेशिनबाट बनाइएका सामग्री तुरुन्तै पाइन्छ ।
ग्याजेटका कारण सांस्कृतिक कार्यक्रम गर्न सहज भएको छ । पहिला जस्तो नाच्ने, गाउने र बाजा बजाउने छुट्टाछुट्टै टोली बनाउनुपर्दैन । १५–२० वर्षअघि ठूल्ठूला क्यासेट प्लेयर बोकेर हिंड्नुपर्थ्याे । अहिले गोजीमै अटाउने र एकपटक चार्ज गरेपछि घण्टौंसम्म आवाज दिने ब्लूटुथ स्पिकरहरू पाइन्छन् । तीजका गीतमा नाँच्न या तिहारमा भैलो खेल्न यस्ता ब्लूटुथ स्पिकरले सजिलो पारिदिएका छन् ।
त्यस्तै डिजिटल क्यामेराले हाम्रा उत्सवलाई संग्रहयोग्य र अरुसँग बाँड्न सकिने बनाएका छन् । मोबाइलमा जोड्न सकिने डिजिटल क्यामेरा आएपछि घरीघरी कम्प्युटर खोलिरहनुपर्दैन । शक्तिशाली ‘पावर ब्याङ्क’ ले ग्याजेटहरू चलाउँदा चलाउँदै पहिले जस्तो ब्याट्री सकिने डर हटाएका छन् । चाडपर्वका बेला सपरिवार ठूलो पर्दामा फिल्म हेर्न हलमै जानुपर्दैन । साना र सस्ता प्रोजेक्टर र ठूला ठूला टेलिभिजन घरमै उपलब्ध हुन्छ ।
प्रविधिको नियन्त्रणमा मानिस
हामीलाई ‘स्मार्टफोन कल्चर’ ले ढपक्कै ढाकेको छ । फोन ‘स्मार्ट’ बोके पनि हाम्रा केही बानी भने ‘स्मार्ट’ छैनन् । प्रविधिमा भुलिरहँदा चाडपर्वको महत्व कम हुने जोखिम बढेको छ । दशैंमा टीका लगाउँदा ध्यान आशीर्वाद दिन र लिनभन्दा तस्वीर खिच्न वा ‘लाइभ’ गर्ततिर हुन्छ ।
तस्वीरमा अनुहार राम्रो देखिएन भने फेरि टीका लगाएको अभिनय गर्न लगाएर फोटो खिच्ने चलन बसिसकेको छ । यसरी प्रविधि हाम्रो नियन्त्रणबाट फुत्किएको छ र हामी प्रविधिको नियन्त्रणमा पुगिरहेका छौं ।
दशैं–तिहारको महत्वपूर्ण हिस्साको रुपमा रहेका चङ्गा, पीङ जस्ता खेललाई मोबाइल गेमहरूले विस्थापित गर्दैछन् । दशैं–तिहारमा प्रयोग हुने कतिपय सामग्री तयार गर्दा लिनेदिने व्यक्तिबीच आत्मीयता बढ्छ । तर, त्यस्ता कुरा बनिबनाउ किन्दा समाजबाट आत्मीयता हराउँदै गएको छ ।
चाडपर्व नआउँदै सामाजिक सञ्जालहरू बनिबनाउ शुभकामना सन्देशले भरिन्छन् । प्रत्यक्ष भेटेर, कार्ड दिएर वा फोनमा कुरा गरेर दिइने शुभकामनाले बढाउने सामीप्यता बनिबनाउ सन्देशमा हुँदैन । संस्कृति छोड्दै प्रविधि अँगाल्ने वा प्रविधि छोड्दै संस्कृति अँगाल्ने दुवैखाले प्रवृत्ति हानिकारक हुन्छ । हामीले प्रविधिको सदुपयोग, दुरुपयोग वा अति–उपयोगमा भिन्नता देख्न सक्नुपर्छ । तब प्रविधि र संस्कृति सँगसँगै अगाडि बढ्न सक्छन् ।