इटहरीमा बढ्दै अपराधका घटना
सुनसरीको इटहरी उपमहानगरपालिकामा पछिल्लो समय अपराधमा संलग्न युवाहरू पक्राउ पर्ने क्रम बढेको छ ।
सामूहिक बलात्कारका ५ आरोपी पक्राउ
प्रहरीले मंगलबार मात्रै बलात्कारमा संलग्न ५ र गुण्डागर्दीमा संलग्न ५ गरी इटहरीबाट १० जनालाई पक्राउ गरेको छ । पछिल्लो समय मानिसको बसोबास र आवत–जावत बढ्दै गएको इटहरीमा अपराधमा संलग्न व्यक्तिहरू पनि बढेर गएको प्रहरीको निष्कर्ष छ ।
इलाका प्रहरी कार्यालय इटहरीका निरीक्षक रमेशकुमार बस्नेतका अनुसार, १३ असोज बेलुका धरानबाट विराटनगरतर्फ हिंडेको बसमा चढेकी किशोरीलाई इटहरीमा ओरालेर ५ जनाले सामूहिक बलात्कार गरेका थिए ।
को १ ख ४६२७ न. को खाम्दाके यातायातमा चढेकी युवतीलाई इटहरीमा ओर्लन खोज्दा बसका कन्डक्टर सुमन मग्रान्ती र आशीष कार्की र सोही बसका पूर्व कन्डक्टर नितेश घिमिरेले ओर्लन दिएनन् ।
केही पर बस रोकेर इटहरी–१० स्थित साथी फ्युल पेट्रोल पम्प भन्दा केही परको एकान्तमा युवतीलाई मदिरा खुवाई बसको सीटमा उनीहरूले बलात्कार गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनामा संलग्न मोरङ सुन्दरहरैचा–१२ का विकास कसाई, झापा सुरुङ्गा–४ का सुरज थापा, सिरहा लहान–४ का सुरेन्द्र भुजेल र मोरङ बेलबारी–७ का आशीष कार्कीलाई पक्राउ गरेको छ । घटनामा संलग्न सुमन मग्राती मोरङ बेलबारीका नितेश घिमिरे फरार रहेको प्रहरीले बताएको छ।
गुण्डागर्दी गर्ने ५ पक्राउ
इटहरी ९ स्थित सुबिसु वाईफाईको कार्यालय नजिकै इटहरी–१० बस्ने सागर तामाङलाई १३ असोजमा एक समूहले हातमा खुकुरी लिएर लखेटे । इटहरी ८ का गोरे भन्ने अनिष सुवेदीले हातमा खुकुरी बोकेका थिए ।
तामाङ भाग्न सफल भएकाले जोगिए । प्रहरीले सुवेदी, दोर्जे वाइबा, शिशिर बस्नेत र बोकी घिमिरेलाई पक्राउ गरेको छ । तामाङलाई हान्न बोकेको खुकुरी पनि बरामद गरिएको निरीक्षक बस्नेतले बताए ।
सो समूहमा रहेर गुण्डागर्दी गर्ने अन्य दुईको पनि खोजी भइरहेको प्रहरीको भनाइ छ । गोरे नामले चिनिने अनिष सुवेदी यसअघि पनि खुकुरी प्रहार गरी ज्यान मार्ने मुद्दामा पक्राउ परी रु.५० हजार धरौटी बुझाएर तारेखमा छुटेका युवा हुन् ।
यस्तै इटहरीमा गुण्डागर्दी गरी मानिसलाई डर, धम्की देखाई पैसा उठाउने लगायत कार्य गर्दै आएका इटहरी–६ का अविनाश लिम्बुलाई पनि मंगलबार नै पक्राउ गरिएको प्रहरीले बताएको छ ।
लिम्बु पनि यसअघि ज्यान मार्ने उद्योग मुद्दामा रु. १ लाख र सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका कसूर अन्तर्गतको मुद्दामा रु ३० हजार धरौटी राखेर तारेखमा छुटेका थिए ।
२०५४ सालमा नगरपालिकामा विकशित भएको इटहरीमा २०७१ मा उपमहानगरमा पदोन्नति भएपछि गुण्डागर्दी, चोरी, लुटपाट, र यौन व्यापार पनि बढेको छ ।
२०६८ को जनगणना अनुसार १ लाख ४० हजार ५ सय जनसंख्या रहेको इटहरीमा प्रदेश १ का सबै जिल्लाबाट पछिल्लो समय आएर बस्ने व्यक्तिको संख्या बढेको छ ।
बेरोजगारीसँगै गुण्डागर्दी गर्ने युवाको संख्या पनि बढ्दै गएको छ । दशैं, तिहार लक्षित सुरक्षा योजना अनुसार त्यसखाले युवाहरूको निगरानी बढाइएको निरीक्षक बस्नेतले बताए ।