पत्रकारले राष्ट्रिय एकताका लागि कलम चलाउनुपर्छ : नेता श्रेष्ठ
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली पत्रकारिता क्षेत्रले राष्ट्रिय एकताका लागि कलम चलाउनु पर्ने बताएका छन् ।
मंगलबार हेटौँडामा नेता श्रेष्ठले स्थानीय पत्रकारसँगको भेटघाटका अवसरमा बहुजाति, बहुभाषी नेपाली समाजलाई समृद्ध बनाउन सञ्चार जगत्को योगदान रहनुपर्ने धारणा राखे।
प्रवक्ता श्रेष्ठले सरकारको कमीकमजोरी देखाउने, खबरदारी गर्ने तथा कतिपय अवस्थामा उजागरसमेत गर्ने काम पत्रकारको भएको उल्लेख गरे ।
उनले नेताहरूको महत्वविहीन भनाइलाई भन्दा पनि जनताका वास्तविक मुद्दालाई समाचार बनाउन अनुरोध गरे।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता श्रेष्ठले नेपाली प्रेसले देशको व्यवस्था परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै सूचना प्रविधिको प्रयोग गरेर जनतालाई सुसूचित गर्दै समाजको सकारात्मक परिवर्तनमा योगदान दिन अनुरोध गरे।
पत्रपत्रिकाले राजनीतिक विषयवस्तुलाई मात्र समाचारको रुपमा प्रस्तुत नगरेर नेपालको कृषि, उद्योग, पर्यटन, खेल, कलाजस्ता विषयवस्तुलाई समाचार बनाएर प्रकाशन तथा प्रसारण गर्नुपर्ने उनको धारणा थियो ।
प्रवक्ता श्रेष्ठले विज्ञान र प्रविधिको विकासलाई सदुपयोग गरी सञ्चार क्षेत्रले आम नागरिकलाई सुसूचित गर्नुपर्ने बताए ।