ठमेल र रत्नपार्कबाट ५४ बालबालिकाको उद्धार
राष्ट्रिय बाल अधिकार परिषद्ले ५४ जना सडक बालिबालिकाको उद्धार गरेको छ ।
राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त टोलीले गए राति ठमेल, रत्नपार्क र नयाँ बसपार्कबाट उनीहरूलाई उद्धार गरिएको हो ।
काठमाडौं उपत्यकालाई सडक बालबालिकामुक्त शहर बनाउने नेपाल सरकारको अभियानअनुरुप २८ जना बालिकासहित ५४ जनालाई उद्धार गरिएको हो ।
उद्धार गरिएका सबैलाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको छ । उनीहरूलाई मनोपरामर्श दिई अभिभावक समक्ष जिम्मा लगाइने परिषद्का प्रशासकीय प्रमुख कृष्णप्रसाद भुसालले जानकारी दिए ।
परिषद्ले गत साउनदेखि नियमित रूपमा विभिन्न कारणले सडकमा अलपत्र अवस्थामा रहेका बालबालिकाको उद्धार गर्दै आएको छ । साउनदेखि हालसम्म परिषद्ले २०० बालबालिकाको उद्धार गरिसकेको जनाएको छ । उद्धार गरिएका बालबालिका तीनदेखि १८ वर्ष उमेर समूहका छन् ।
त्यसैगरी परिषद्ले यही १० असोजमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा सञ्चालित ‘सामाजिक तथा मानवीय सरोकार केन्द्र’ नामक संस्थाले जोखिमपूर्ण अवस्थामा राखेका नौ बालक र दुई बालिका गरी कुल ११ जनाको पनि उद्धार गरेको थियो ।
सरोकार केन्द्रबाट उद्धार गरिएका सबै बालबालिका मुगु जिल्लाका रहेका छन् ।
उक्त संस्थाले आवासीय बालगृहको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९ मा भएको व्यवस्था विपरीत उचित खानपान, आवास र संरक्षणको प्रबन्ध नगरीे संस्थामा बालबालिका राखेको पाइएकाले उनीहरूलाई उद्धार गरिएको हो ।
उद्धार गरिएका बालबालिकालाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको छ ।