मातृभाषा कमजोर नहुने गरी अंग्रेजी सिकाइने : सामाजिक विकास मन्त्री
नेपाली मातृभाषा कमजोर नहुने गरी विद्यार्थीलाई अंग्रेजी सिकाइने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् ।
विराटनगरमा मंगलबार मन्त्रालयले गरेको गतवर्ष र चालु आर्थिक वर्षको प्रगति सार्वजनिक कार्यक्रममा मन्त्री घिमिरेले विद्यार्थीले नेपाली भाषा बोल्न नसक्ने अवस्था आउँदै गरेको बताए ।
“केही वर्षमै विद्यार्थीले ५० प्रतिशत पनि नेपाली बोल्न नसक्ने अवस्था आउँदैछ”, उनले भने ।
नेपाली मातृभाषा प्रवर्द्धनसँगै अन्तर्राष्ट्रिय अंग्रेजी भाषा विद्यार्थीलाई सिकाइनु पर्ने मन्त्री घिमिरेको भनाइ छ । “जीवन र रोजगारीसँग जोडिएका भाषा अंग्रेजी, चाइनिज, कोरियन भाषा विद्यार्थीलाई सिकाइनु जरुरी छ तर, ती भाषाले नेपाली भाषालाई कमजोर बनाउन हुँदैन”, घिमिरेले भने ।
उनले प्रदेशमा विद्यार्थीलाई किताब र झोला रहित डिजिटल शिक्षा दिने कार्यको थालनी भइसकेको बताए ।
गुणस्तरीय शिक्षा नदिने र थोरै विद्यार्थी रहेका विद्यालयहरूलाई मिलाएर ठूला शैक्षिक संस्था सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए । “पहाडमा २० वटा घर भएका डाँडामा विद्यालय छन्, विद्यालयहरू मर्ज गरेर होस्टलसहित विद्यार्थी राख्ने व्यवस्था गर्नुपर्छ”, उनले भने ।
तराईमा पनि विद्यालयको संख्या घटाएर एउटै विद्यालयमा ३, ४ हजार विद्यार्थी पढाउन सक्नु पर्ने घिमिरे बताउँछन् ।
तराईका जिल्लामा विद्यालयलाई यातायातका साधन दिएर विद्यार्थी ओसार्ने व्यवस्था गरिने मन्त्री घिमिरेको भनाइ छ । विद्यालयहरूमा हुने गरेका आर्थिक अनियमितता नियन्त्रण गर्दै जाने बताउँदै उनले भने, “अनियमिताको विरुद्धमा लाग्दा जीवन र जवानी गुमाएको छु, जेल गएको छु ।”