नेकपाले बोलायो आकस्मिक बैठक
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ ।
अध्यक्षद्वयको छलफलपछि प्रधानमन्त्री निवास बालुवाटारमा एघार बजे आकस्मिक बैठक बोलाइएको हो । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको गम्भीर आरोप लागेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र दाहाल बीच छलफल भएपछि सचिवालय बैठक बोलाइएको छ ।
अध्यक्ष दाहाल र सभामुख महराबीच बिहानै छलफल भइसकेको छ । सभामुख महराले अध्यक्ष दाहाललाई आफू यो प्रकरणमा सहयोग गर्न तयार रहेको जनाएका छन् ।
संसद सचिवालयका एक महिला कर्मचारीले सभामुखमाथि बलात्कार प्रयासको आरोप लगाएकी छन् । सभामुख महराको सचिवालयले भने आफूलाई फसाउन गरिएको प्रयास भनी खण्डन गरेको छ ।